काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो ।
दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको भन्दै कानुनमन्त्री धनराज गुरुङले सकारात्मक छलफल भएको दाबी गरे ।
उनले शिक्षकहरूका मागको बारेमा आज फेरि बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बताए ।
सहमति जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बिहीबारको बैठकमा सामान्य छलफल मात्रै भएको बताए ।
देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
Discussion about this post