विराटनगर/ मोरङमा प्लाई र केमिकल गोदाममा शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब पौने ४ करोड रूपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
बूढीगंगा गाउँपालिका–१ गंगा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । गोदाम उद्योगी दिवाकर राठीको हो । डीएसपी दाहालका अनुसार दिउँसो १२ः३० बजेतिर गोदाममा अचानक आगलागी भएको थियो ।
आगो नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा दिउँसो ४ः५५ बजेतिर नियन्त्रणमा लिइएको थियो । आगलागीबाट प्लाईका ३ वटा गोदाम पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगोले प्लाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ जल्दा ३ करोड रूपैयाँ बराबरको क्षति भएको डीएसपी दाहालले बताए ।
उनका अनुसार आगोले प्लाईमा प्रयोग हुने केमिकल ७५ लाख रूपैयाँ बराबरको नष्ट भएको छ । प्लाईको कच्चा पदार्थ र केमिकल जल्दा ३ करोड ७५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने हुन पाएन । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।
Discussion about this post