विराटनगर : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको विराटनगर महानगरपालिका–२ स्थित घरमा सादा पोसाकका प्रहरीले आइतबार (आज) बिहानैदेखि घेरा हालिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएका सादा पोसाकका प्रहरीले बिहानैदेखि घर घेरा हालेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया पनि केही बेरअघि त्यहाँ पुगेका छन् । स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिन प्रहरी खटिएको हो ।
मन्त्री अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् । उनी आजै दिउँसो १ः५० बजेको यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारीमा थिए ।
‘आफू अनुसन्धानमा सहयोग गर्न आएको र अनुसन्धानको दायरामा ल्याइयोस् भन्ने बेहोरको निवेदनसहित अधिकारी काठमाडौंस्थित प्रहरीको सम्पर्कमा जान लागेका थिए । तर, प्रहरीले बिहानैदेखि घरमा घेरा हालिरहेको छ,’ अधिकारीनिकट स्रोतले भन्यो ।
जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि लागेको छ ।
स्रोतका अनुसार अधिकारीलाई केहीबेरमा काठमाडौं लैजाने प्रहरीको तयारी छ । एमालेबाट कोशी प्रदेशसभा सदस्यसमेत रहेका अधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन चौतर्फी दबाब परेको थियो । यद्यपि, उनले आफू अनुसन्धानमा सहयोग गर्न सदैव तयार रहेको बताउँदै आएका छन् ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवालाई जापानको अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । अधिकारी सहभागी हुने कार्यक्रममै हिँडेको भन्दै जापान पुगेका उनीहरुलाई उनले नै फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएका हुन् ।
शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । तर, यस घटनाको सूचना आफैंले पहिले प्रहरीलाई दिएको बताएपछि अधिकारीलाई छाडिएको थियो ।
नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए ।
अधिकारीले भने तीन जनालाई आफूले हङकङमा भेटेको र फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताउँदै आएका छन् ।
तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए ।
कर्मचारीको नक्कली परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ । परिचयपत्रमा रहेको हस्ताक्षर किर्ते गरेर राखिएको अधिकारीको जिकिर छ ।
तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेशविक्रम पाण्डेलाई पनि पक्राउ गरिसकेको छ ।
अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।
आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापान पुगेर कार्यक्रममै सहभागी नभइकन अधिकारी फर्किएका थिए ।
उनले अनुसन्धानमा सहयोग गर्नका लागि भन्दै गत बुधबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिए । सत्तारुढ नेकपा (एमाले)आवद्ध अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
जापान भ्रमण विवादपछि उनले पार्टीको जिम्मेवारीबाट समेत आफूलाई हटाउन माग गरेर निवेदन दिएका थिए । पार्टीले उनलाई तत्कालका लागि साधारण सदस्यबाट समेत निलम्बन गरिसकेको छ ।
Discussion about this post