इटहरी । सुनसरीको इटहरीमा रहेको अम्बेकोशी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र बहादुर पुर्बछाने मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले आज उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।
यस्तै सहकारीका सञ्चालक समिति सदस्य शिला गजमेर पनि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले बताए ।
पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।
यस्तै पक्राउ परेका लेखा सुपरिवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख र लेखा समितिकै सदस्य कुमार आले ५ लाख धरौटी बुझाएर तारेखमा रिहाइ भएका छन् ।
प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इनरुवाले ठगीका बारेमा सहकारीका अध्यक्ष मगर सहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरूलाई एक महिना अघि पक्राउ गरेको थियो ।
११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरे पनि प्रहरीले भने ४ जनालाई मात्र पक्राउ गरेको थियो ।
सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत,सदस्य मीनकुमार आले मगर,सागर राई,टेक बहादुर चर्मकार,राजकुमार तामाङ,सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिले सम्म फरार रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।
सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोड देखि माथि १ अरब सम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।
पूर्व सञ्चालक देखि लिएर पुर्बकर्मचारीलाई समेत अदालत झिकाइयो
सहकारीका सञ्चालक,कर्मचारी सहित ऋण नतिर्नेहरूलाई समेत दोषी ठहर्याउदै अदालतमा हाजिर हुन आदेश जारी भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले पक्राउ परेका ४ सहित ५६ जना विरुद्ध अभियोजन सहित जिल्ला अदालत सुनसरीमा ४७ करोड ७ लाख ६६ हजार ४ सय ४९ रुपैयाँ हिनामिना गरी सहकारी ऐन २०७४ को कसुर गरेको भन्दै सजाय मागदाबि गरिएको थियो ।
न्यायधिस गौतमको इजलासले सञ्चालक समितिका पूर्व सञ्चालकहरू हिराकुमारी मगर,बद्रीप्रसाद रेग्मी,नगेन्द्र गुरुङ,सुमन भण्डारी,विमला चौधरी,अमित राईलाई पनि अदालतमा हाजिर हुन म्याद जारी गरेको छ ।
यस्तै संस्थाका पुर्बकर्मचारीहरु सुजन चौधरी,लीला खडका,सागर चौधरी,अशोक चौधरी,एकराज पहाडी,धनबहादुर मगर,धनुषा पराजुली,दीपेश राई,आशिका राई र क्षितिज राईलाई पनि अदालतमा हाजिर हुन म्याद जारी गरेको छ ।
सहकारीबाट ॠण लिएर नतिर्नेहरुलाई बचतकर्ताहरूको रकम हिनामिना गरी अपचलन गरेको भन्दै सहकारी ऐन २०७४ बमोजिमकै कसुरमा म्याद जारी गरेको हो ।
यी हुन् ऋण नतिर्नेहरू
यसरी ऋण लिएर नतिर्नेहरूमा रबर्ट कुमार श्रेष्ठ,सम्झना कार्की,रेवती दुलाल,सम्झना कार्की,रमेश पौडेल ,कृष्णबहादुर कटुवाल,तारामान लिम्बु,चन्द्र कुमार गेलाल,टिकाराम भटराई,हरि बहादुर खडकालाई पनि अदालतमा हाजिर हुनका लागि म्याद जारी गरेको छ ।
यसैगरी मनोज अधिकारी,तारा राई,नवीन पौडेल,राम प्रबेश शाह,यशोदा पौडेल,अमृता लिम्बु,रुद्रबहादुर पौडेल,भूमिप्रसाद आर्चाय,पशुपति श्रेष्ठ,पूर्ण बन्धु न्यौपाने,शान्ता पौडेल,खड्ग कोइराला,शम्भु दाहाल,हेम श्रेष्ठ,गङ्गाचरण शाह,सुनिता मगर,चुडामणि निरौला,बिष्णुकुमारी बिक,भुवन कुमार राउत र लीला कार्कीलाई अदालतमा हाजिर हुनका लागि म्याद जारी गरेको छ ।
असन्तुष्ट पीडित
सहकारी ठगी काण्डमा अध्यक्षलाई मात्र जेल हालेर अन्यलाई धरौटीमा छाडेको भन्दै पीडित सङ्घर्ष समितिले भने विरोध जनाएको छ ।
अम्बेकोशी बचत तथा श्रृण सङ्घर्ष पीडित सङ्घर्ष समितिका संयोजक दुर्गा कोइरालाले अदालतको आदेशलाई सम्मान गर्ने भए पनि निर्णय चित्तबुझ्दो नभएको बताएका छन् ।
धेरै माग दाबी भए पनि पिडकहरूलाई थोरै मात्र धरौटी खुलाएर छाड्न आदेश दिएका कारण आफूहरूले न्याय पाउन मुस्किल भएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।
Discussion about this post