धरान : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धरान आउने तयारी छ । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहलाई सम्बोधन गर्न ओली आउने तयारी रहेको हो ।
ओलीले विभिन्न संकायका ६ सय ५७ जना विद्यार्थीहरू दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ । सन् २०१६ मा १२ औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त समारोह गर्न लागेको हो ।
दीक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधी विद्यार्थीहरूलाई दीक्षित गरिने तयारी छ ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली धरान आउने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार सुरक्षाका लागि पाँच सय ६५ जना नेपाल प्रहरी परिचालन हुनेछन् ।
‘नेपाल प्रहरीबाट पाँच सय ६५ जना खटाइने तयारी छ,’ उनले भने, ‘सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिनेछ ।’
उनकाअनुुसार प्रधानमन्त्री ओली १२ बजे विराटनगर विमानस्थलमा आउनेछन् । त्यसपछि सिधै धरान आएर दीक्षान्त समारोहमा सहभागी हुने तिम्सिनाले जानकारी दिए ।
नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी पनि बाक्लो मात्रामा परिचालन हुने बताइएको छ ।
खासगरी कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचान पक्षधर आन्दोलित भइरहँदा उक्त आन्दोलन ओलीकेन्द्रीत हुनसक्ने भन्दै प्रहरीले विशेष निगरानी गरिरहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार सम्भावित घटना हुन नदिन सावधानी अपनाइएको छ ।
धरानमा पहिचान पक्षधरहरूले यसअघि पनि विभिन्न आन्दोलन गरेका थिए । सोहीकारण सोमबार ओली आउने कार्यक्रममा पहिचानको आन्दोलन पुनः ब्यूँतने खतरा भएकाले सुरक्षा व्यवस्था कडा पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तत्कालीन प्रदेश १ को नामकरण कोशी राखिएपछि पहिचान पक्षधरहरू एमालेविरूद्ध आन्दोलित छन् ।
खासगरी एमाले अध्यक्षसमेत रहेका ओलीले सार्वजनिक मञ्चहरूमै पहिचान पक्षधरको माग सम्बोधन गर्नेभन्दा पनि उनीहरूका मागलाई बेवास्ता गरेपछि यसअघि चरणबद्ध आन्दोलन भएको थियो ।
Discussion about this post