काठमाडौँ / सत्तारुढ गठबन्धनको एक प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाटै सरकारमा गएका मन्त्रीहरुको भूमिका प्रभावकारी नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
ललितपुरको गोदावरीमा आयोजित कांग्रेस महासमिति बैठकमा बोल्दै महामन्त्री शर्माले सत्ता गठबन्धनबारे प्रसस्त असन्तुष्टि र चुनौती रहेको पनि बताए।
उनले बैठकका क्रममा भने- मन्त्रीको कार्यभार र प्रस्तुतिको समीक्षा गर्नुपर्ने अवस्था छ। सत्ता गठबन्धनको भरपुर विश्वास हुने गरी सरकारले काम गर्न सकेको छैन।
उनले सरकारको सफलता र असफलता दुवैमा कांग्रेसको पनि भूमिका रहने तर सफलताको जस लिन खोजे पनि असफलताको दोष कांग्रेसले लिन नचाहेको पनि बताए। उनले भने- सत्ता गठबन्धनको भरपुर बिश्वास हुने गरि सरकारले काम गरेको छैन। सरकारको सफलता वा असफलतामा कांग्रेसको पनि भूमिका छ तर सफलताको जस लिन खोज्ने अनि असफलताको जस किन लिने भन्ने कांग्रेसभित्र नै छ।’
महामन्त्री शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन्।
महामन्त्री शर्माले भने– ‘संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुराउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।’
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्– ‘पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धी हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।’
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन्।
एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताएका छन्। महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताएका छन्।
‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टि र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमश समाधान गरेर जाने संकल्प र दृढता राख्नुपर्छ,’ उनले भने।
महामन्त्री शर्माले राजनीतिकप्रतिको विकर्षण अन्त्य गरि देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग वृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षा सहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको बताए।
Discussion about this post