विराटनगर । झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर दुरी सडक विस्तार अन्तर्गत मोरङ जिल्लामा सडक सीमा क्लियरको काम सुरु गरिएको छ । मोरङको कानेपोखरीबाट सडक सीमा भित्र पर्ने रुखहरु कटान थालिएको हो ।
एसियाली विकास बैंकको सहयोगमा पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको दुई लेनको सडक चार लेनमा विस्तारको काम अगाडी बढिसकेको छ । सडक आयोजना प्रमुख जगत प्रजापतीका अनुसार सातदेखि ११ मिटर चौडाइको सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धशहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने योजना रहेको छ ।
एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा तीन जिल्लामा १२० किलोमिटर सुडक चारलेन, ७१ वटा नयाँ पुल निर्माणका लागि १२ हजार भन्दाबढी रूख कटान गर्नुपर्ने गुरुयोजनामा देखिएको छ । विस्तारित हुने सडक काकडभिट्टामा एसियन हाइवेसँग जोडिएको छ ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने यो सडकलाई ‘महान् एसियाली राजमार्ग’ ले चित्रित गरिएको छ । नेपालमा एक किलोमिटर भागमा मेचीपुल निर्माण भईसकेको छ । मोरङको कानेपोखरीमा बुधबारदेखि रुख कटान सुरु भएको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती ९सुशिल०ले पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका थिए ।
त्यस क्रममा मन्त्री उप्रेतीले बाटो निर्माणका लागि रुख काटिनु सामान्य हुने बताएका छन् । उनले एसियन हाईवे विस्तारसँगै त्यसले स्थलमार्गबाट हुने पर्यटक आगगमन बढाउने विश्वास व्यक्त गरे । प्रदेश सरकारले वनसँग सम्बन्धित कुनैपनि अड्चन आउन नदिने विभागिय मन्त्रीको हैसियतमा उप्रेतीले प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
Discussion about this post