प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिन आउनेहरूको भिडले काममा असर परेको बताएका छन् ।
आइतबार प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले बधाई तथा शुभकामना दिन आउनेहरूका कारण सरकारका अन्य काममा असर परेको बताएका हुन ।
उनले मुख्यमन्त्री भएलगत्तै करिब १० दिन सार्वजनिक विदा परेको र अन्य समयमा पनि बधाई दिन आउनेहरूको भिडले काम प्रभावित भएको बताए ।
मुख्यमन्त्री नियुक्त भएको एक महिना पुरा हुन लागेपनि बधाईको क्रम नरोकिएका कारण विदाको दिन पनि कार्यालय पुगेर बधाई थापिरहेको उनले बताए ।
उनले भने, ‘छिटै बधाई लिनेदिने कार्यक्रम सकियोस् भनेर म दुई दिन जति बिदाको समयमा पनि कार्यालयमा बसेँ । अहिले पनि बधाई दिन आइरहनु भएको छ । तपाईँहरू नआउनुहोस् भन्न पनि सक्दिन ।’
गत पुस २५ गते सपथ लिएका उनको मुख्यमन्त्री भएपछि बधाई, शुभकामना तथा उद्घाटनमै व्यस्त भएको भनेर आलोचना भएको थियो ।
Discussion about this post