भोजपुर / प्रत्येक वर्ष भोजपुरमा सञ्चालन हुँदै आएको मुन्दुम ट्रेल रेसको तयारी थालिएको छ । नयाँ वर्षको अवसरमा आगामी वैशाख ३ गते भोजपुर नगरपालिकामा ट्रेल रेसको छैटौँ संस्करण आयोजना गर्न लागिएको हो ।
टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्र्पोटस एण्ड एकेडेमीको आयोजनामा जिल्लाको बाघखोरबाट चखेवा भञ्ज्याङसम्म ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता सञ्चालनको तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । राईका अनुसार रेस भोजपुर–४ बाघखोरबाट सुरु भई टेम्केमैयुङ–४ को चखेवा भञ्ज्याङसम्म रेस सञ्चालन हुनेछ ।
विसं २०८१ वैशाख १, २ र ३ गतेदेखि कृषि, पर्यटन र सांस्कृतिक महोत्सव चखेवामा हुन लागेको छ । सोही अवसर पारेर ट्रेल रेस हुन लागेको अध्यक्ष राईको भनाइ छ । “सरकारको एक सय पर्यटन गन्तव्यका रूपमा सूचीकृत मुन्दुम पदमार्गको प्रचारप्रसारका लागि पनि यो रेस महत्त्वपूर्ण हुनेछ”, राईले भने ।
प्रतियोगितामा नेपाल आर्मीसहित १० जिल्लाका खेलाडी खुला पुरुषतर्फ ९९, खुला महिलातर्फ ३६ र ४० वर्षमाथि पुरुषतर्फ १२, महिला तीन गरी करिब एक सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
रेसमा महिला तथा पुरुष विधातर्फ विजयी, प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू ३५ हजार, रू २५ हजार, रू १५ हजार र रू पाँच हजार प्रदान गरिने छ । त्यस्तै ४० वर्षमाथि भ्याट्रन महिला, पुरुष विधातर्फ विजयी, प्रथम र दोस्रो रनरअपलाई क्रमशः रू १५ हजार, रू आठ हजार, रू पाँच हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजक संस्थाका सचिव सङ्ग्राम राईले जानकारी दिए ।
यसअघि सञ्चालित संस्करणका खेलाडी उमेश राई, प्रतिभा श्रेष्ठ, हिरामान तामाङ, रामबहादुर गुरुङलगायत अन्य खेलाडीले देशका विभिन्न क्षेत्रमा सञ्चालन हुने रेस प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
Discussion about this post