काठमाडौँ: नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस भएसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट नेपाल प्रहरीमा समायोजन भएका अधिकृतलाई नेतृत्वमा पूर्णविराम लागेको छ।
गृह मन्त्रालयले शुक्रबार राति नेपाल प्रहरीका चार एसएसपीलाई बढुवाको सिफारिस गर्दा राअविबाट नेपाल प्रहरीमा आएका टोली छुटेपछि उनीहरूका लागि करिब ८० हजार प्रहरीको नेतृत्व गर्ने सर्वोच्च पद महानिरीक्षक हुने ढोका करिबकरिब बन्द भएको हो।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल छन्। दोस्रोमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की, तेस्रोमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथोमा हेडक्वार्टरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी छन्।
पोखरेल हालका एआइजी दीपक थापाका ब्याची हुन् भने अन्य तीन जना २०५४ सालमा प्रहरीका सेवा प्रवेश गरेका हुन्। २०५४ सालमा कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सिफारिस गरेसँगै प्रहरीको भावी नेतृत्व पनि उनीहरूमध्ये एक जनाले गर्ने निश्चितजस्तै भएको छ।
प्रहरीमा हाल तीन डिआइजीको दरबन्दी भए पनि यही जेठ १० मा अर्का डिआइजी सुरेन्द्र मैनाली उमेर हदका कारण अवकाशमा जाने भएपछि गृह मन्त्रालयले उनको ठाउँमा समेत जोडेर चार जनालाई बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी महानिरीक्षक (आइजिपी) कै ब्याचका गणेश चन्द, भोला रावल र ध्रुवराज राउत भने एसएसपीबाटै बिदा हुने सम्भावना बढेको छ। तीनमध्ये चन्द भने बढुवाका लागि दौडधुप गरिरहेका थिए। अन्य दुई जना विगतमा कारबाहीमा परेकाले उनीहरूले बढुवा लागि खासै प्रभाव राख्न सकेका थिएनन्। उनीहरूले अघिल्लो ब्याच भन्नुबाहेक कार्यसम्पादन मूल्यांकन कमजोर रहेका कारण डिएसपी बढुवाबाटै पछि धकेलिँदै आएका थिए।
अहिलको बढुवामा जसमा २०५१, २०५२, २०५३ र २०५४ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका करिब तीन दर्जन एसएसपी प्रतिस्पर्धामा भए पनि २०५२ सालको एक जना र २०५४ सालका तीन मात्रै बढुवा लागि सिफारिस भएका हुन्। जसमा २०५२ सालमा वैकल्पिक समूहबाट इन्स्पेक्टरमा प्रवेश गरेका पोखरेलसँगै २०५४ सालका कार्की, केसी र अधिकारीलाई सिफारिस गरिएपछि प्रहरीको भावी नेतृत्वमा पनि २०५४ सालकै टोलीको सम्भावना देखिएको हो।
पोखरेल हालका एआइजी दीपक थापासँगै अवकाशमा जानेछन्। यसपल्टको बढुवामा २०५१ सालको टोलीबाट चन्द र राउत छुटेका छन्। चन्दलाई भने यसअघि डिआइजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेशको जिम्मेवारी दिएर बढुवा हुन नसक्ने संकेत गरिएको थियो। चन्द र सिंह पति–पत्नी हुन्।
२०५३ सालको समूहबाट भने बढुवा छुटेको छ। २०५३ सालको समूहमा डिआइजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए।
शाह, राठौर, चतुर्वेदीसहित राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई नै यसपटकको बढुवामा छुटाइएको हो। २०५३ सालमा इन्सपेक्टर भएका एसएसपीहरू आफूहरू बढुवा नभए पनि कुनै पनि हालतमा २०५४ सालको टोलीलाई बढुवा हुन नदिने पक्षमा थिए तर प्रहरीमा भावी नेतृत्वलाई परिपक्व बनाउन भन्दै गृह मन्त्रालयले यसपटकको बढुवामा २०५४ सालको ब्याचलाई प्राथमिकतामा राखेको देखिन्छ।
कार्की र केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन्। उनीहरूसँगै बढुवा भएका २०५४ सालकै टोलीका अधिकारी पनि विवादरहित छन्। ‘यसपल्टको बढुवामा २०५४ मा इन्सपेक्टरमा भर्ना भएकाहरूले अहिले नै डिआइजी बढुवामा लबिङ गरेका थिए। उनीहरूलाई राअविको समूहले रोक्ने कसरत गरेको थियो तर त्यो प्रत्युत्पादक हुन पुग्यो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने।
२०५२ कात्तिक २७ मा इन्सपेक्टरमा भर्ना भएका पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर थिए। उनी बढुवाको पहिलो नम्बरमा परेका छन्। उनी २०७७ माघ ९ मा एसएसपीमा बढुवा भएका थिए। उनीअघि २०५१ चैत ५ मा भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्दले इन्सपेक्टरको नियुक्त लिएका थिए। तर एसएसपी बढुवामा भने शर्मा सधैं पछि थिए।
रावल र राउत २०७८ मंसिर १२ मा एसएसपीमा बढुवा भएका थिए। चन्द भने उनीहरूभन्दा पछि २०५३ र २०५४ सालको टोलीसँगै २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए। उनीहरू तीनै जना बढुवामा छुटेका छन्। २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका र २०५४ चैत १८ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरूबीच बढुवाका लागि द्वन्द्व थियो।
२०५४ सालको टोली डिएसपी बढुवा हुने बेलामा राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर आएकाहरू डिएसपीमा बढुवा भएका थिए। राष्ट्रिय अनुसन्धानबाट आएकाहरू एक वर्षपहिले भर्ना भएको सिनियर टोली भन्दै २०५४ सालको टोलीलाई छुटाएर २०६४ पुस ३० मा डिएसपीमा बढुवा भएका थिए। उनीहरूकै कारण २०५४ सालका टोलीको डिएसपी बढुवा दुई वर्ष पछाडि धकेलिएको थियो।
२०५४ सालको समूह २०६६ मंसिर २६ मा बल्ल डिएसपीमा बढुवा भएको थियो। त्यसपछि एसपी र एसएसपीमा भने २०५३ र २०५४ सालका टोलीहरूको एकै पटक क्रमशः २०७४ असार ३१ र २०७८ मंसिर १२ मा भएको थियो।
नेपाल प्रहरीको २०५६ सालको ब्याचभन्दा पछि २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरूले प्रहरीको तालिम गरेका थिए। उनीहरूले तालिम सकेर द्वन्द्वको समयमा कठिनभन्दा कठिन कार्यमा खटिएका थिए। तर राअविबाट नेपाल प्रहरीमा आएकाहरू कहिल्यै पनि द्वन्द्वकालमा खटिनुपरेन। उनीहरूले कमान्ड सम्हाल्ने बेलामा द्वन्द्वकाल समाप्त भइसकेको थियो।
राष्ट्रिय अनुसन्धानबाट आएकामध्ये सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, विमल बस्नेत डिआइजी बढुवाका स्वाभाविक दाबेदार थिए।
२०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीबाट ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरूण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे पनि प्रतिस्पर्धी थिए।
यसैगरी जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जीव शर्मा दास पनि प्रतिस्पर्धी थिए। यीमध्ये मनोज, विनोद, जयराम, शारदाप्रसाद, लोकेन्द्र, रामेश्वर, दिलीपसिंह र सञ्जीव पनि राअविबाटै २०५८ मा स्थानान्तरण भएका अधिकृत हुन्।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Discussion about this post