विराटनगर । मोरङको कटहरीमा रहेको सुखानी खोलामा नाबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार अघिल्लो दिन घरबाटै बेपत्ता भएकी कटहरी गाउँपालिका-५ का धर्म झाँगडकी ७ बर्सिया छोरी प्रीति झाँगडको खोलामा डुबेर मृत्यु भएको अवस्थामा भोलिपल्ट शव भेटिएको हो ।
अभिभावकलाई नभनीकन प्रीति आइतबार दिउँसो ३ बजेदेखि घरबाट हिँडेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार खोजी गर्ने क्रममा कटहरी(५ स्थित सुखानी खोलामा सोमबार दिउँसो शव फेला परेको हो ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए । उनका अनुसार खोलामा डुबेर बालिकाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तत्काल हेर्दा घटना शङ्कास्पद नदेखिएको र अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ने जानकारी बस्नेतको भनाइ छ ।
Discussion about this post