विराटनगर । तस्करीको लाइन चलाउन मद्धत गरेको आरोप लागेका सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्कालाई चोख्याउने प्रयास भइरहेको पाइएको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाउन तस्करको समूहलाई सहयोग गरेको विवादमा एसपी खड्का मुछिएका छन् । उनीमाथि छानबिन एवं अनुसन्धान गर्न भनेर सशस्त्रका डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ ।
तर, छानबिन भने झारो टार्ने हिसाबले भइरहेको पाइएको छ । कारबाहीका लागि भनेर काठमाडौं तानिएका खड्कामाथि नाम मात्रैको छानबिन गरेर चोख्याउँदै उनलाई पुनः मोरङ नै फिर्ता पठाउन व्यापक चलखेल भइरहेको सशस्त्रका उच्च अधिकारीहरु बताउँछन् ।
उनीमाथि छानबिन एवं अनुसन्धान गर्न सशस्त्र प्रहरी बल मुख्यालयले गत आइतबार सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको थियो । एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी समितिको सदस्य छन् ।
डीआईजीकै नेतृत्वमा समिति गठन गरेर एसपी खड्कामाथि छानबिन अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी कुमार न्यौपानेले बताए । आफ्नो काम सकेर छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने उनको भनाइ छ ।
उनका अनुसार समितिले फिल्डमा पुगेर काम सुरु गरिसकेको छ । के भएको रहेछ र तस्करीमा एसपीको संलग्नता छ कि छैन भनेर वास्तविकता बुझ्ने काम भइरहेको डीआईजी न्यौपाने बताउँछन् । भन्छन्, ‘समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्छ । दोषी देखिएमा कारबाही हुन्छ । एसपी खड्कामाथि कारबाही हुने कि नहुने भन्ने टुंगो प्रतिवेदनका आधारमा लाग्छ ।’
आरोप लागेका सबै विषयमा छानबिन हुने र अबको केही दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने न्यौपानेले बताए । प्रतिवेदन अध्ययनपछि मात्रै एसपी खड्काले तस्करीमा सहयोग गरेको हो कि हैन भनेर प्रष्ट हुने उनको भनाइ छ । सशस्त्रका प्रवक्ता न्यौपाने छानबिनबाट गल्ती गरेको नदेखिएमा खड्कालाई मोरङ नै फिर्ता पठाउने र दोषी देखिएमा भने कारबाही हुने बताउँछन् । एसपी खड्कामाथि छानबिन गर्ने समितिको नेतृत्व गरेका डीआईजी लक्ष्मणबहादुर सिंह भने अहिलेसम्म मोरङ आएकै छैनन् । उनको समितिले प्रतिवेदन बुझाउनुपर्ने समय भने १ साताको मात्रै छ ।
स्रोतका अनुसार छानबिन समितिका सदस्य एसपी माधव रेग्मी मात्रै मोरङ आएर केही व्यक्तिहरुसँग कुरा बुझेजस्तो गरेका छन् । सबै पक्षसँग गहिरो ढंगले कुरा बुझ्ने र वास्तविकता पहिल्याउने प्रयास नै नगरिएको स्रोतको भनाइ छ । छानबिनमा तानिएका खड्का र समितिका सदस्य रेग्मी सशस्त्रमा ब्याजी हुन् । २०६० सालमा सशस्त्रको इन्सपेक्टरमा सँगै भर्ना भएका दुवै जनाले एकअर्कालाई खुलेर सहयोग गर्ने निकटस्थहरु बताउँछन् ।
सशस्त्रको मुख्यालयका एक अधिकारी छानबिन समिति डीआईजीको नेतृत्वमा भएपनि एसपीले गरेको बदमासीको छानबिन गर्न एसपीलाई मात्रै फिल्डमा पठाइनु गलत भएको बताउँछन् । ‘छानबिन समिति नै झारो टार्नका लागि बनाएजस्तो देखियो । यो अरु केही नभएर छानबिन गरेजस्तो देखाउँदै कारबाही नगरी एसपी खड्कालाई उन्मुक्ति दिएर पुनः मोरङ पठाउन गरिएको चलखेल हो । कारबाहीका लागि भनेर तानिएका एसपीलाई पुनः फिर्ता पठाउँदा विभागको भूमिकामाथि नै प्रश्न उठ्छ,’ उनले भने । उनका अनुसार खड्कामाथि कारबाही गर्ने पर्याप्त आधार र प्रमाण हुँदा पनि अनुचित हिसाबले चलखेल गरेर उन्मुक्ति दिने तयारी छ ।
समिति संयोजक डीआईजी सिंहले आफू काठमाडौंमै रहेको बताए । ‘म अर्को काममा लागेकाले केही कुरा बुझ्न एसपीलाई मात्रै त्यहाँ (मोरङ) पठाइएको हो । प्रारम्भिक चरणको छानबिन चलिरहेको र बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीले धेरै चिजहरु हेरिरहेकाले सबै कुरा बुझ्न फिल्डमै आउनुपर्छ भन्ने छैन । एक जनाले मात्रै नभएर टिमले गर्ने भएकाले कुनै ‘लेभल’मा काम भइरहेको छ ।’
समितिले विभिन्न कोणबाट छानबिन एवं अनुसन्धान गरिरहेको भन्दै सिंहले अन्त पनि निरीक्षण गर्नुपर्ने भएकाले आफू मोरङ आउने-नआउने कुरा निश्चित भइनसकेको उल्लेख गरे । भने, ‘म अहिले व्यस्त भएकैले आउन पाइन । छानबिन एवं अनुसन्धान कसरी र के गर्ने भन्ने हाम्रो काम हो । अरु कुरा छाड्नुहोस् ।’
सशस्त्रका अधिकारीहरु एसपी खड्कामाथिको छानबिन फितलो हुने निश्चित भएको र उनलाई कारबाहीबाट जोगाउन व्यापक चलखेल भइरहेको बताउँछन् । छानबिनलाई प्रभावित पार्न र सामान्य प्रतिवेदनकै भरमा उन्मुक्ति दिनका लागि एसपीलाई मात्रै फिल्डमा पठाइएको उनीहरुको बुझाइ छ । शंकास्पद हिसाबबाट छानबिन हुनुले पनि आर्थिक चलखेल गरेर नै खड्कालाई कारबाहीबाट जोगाउन खोजिएको आशंका कतिपयले गरेका छन् ।
छानबिन समितिका संयोजकले फिल्डमा पुगेर सबै कुरा नबुझिकन छानबिन टुंगोमा नपुग्ने सशस्त्रका पूर्वडीआईजी सुरज श्रेष्ठ बताउँछन् । उनका अनुसार वास्तविक कुरा बुझ्नलाई संयोजक आफैं फिल्डमा पुग्नुपर्छ । फिल्डमा पुग्दा मात्रै सबै कुरा थाहा हुने र छानबिन प्रभावकारी बन्ने श्रेष्ठको भनाइ छ । ‘एसपीको छानबिन गर्न एसपीलाई मात्रै फिल्डमा पठाउँदा काम निष्पक्ष हुँदैन । समान हैसियतकालाई पठाउँदा त्यसले राम्रो सन्देश पनि दिँदैन,’ उनले भने ।
पूर्वडीआईजी श्रेष्ठले संयोजक फिल्डमा नपुग्दा अनुसन्धान एवं छानबिन प्रभावित भई शंका गर्ने पर्याप्त आधारहरु तयार हुने र बदमासी गर्नेले उन्मुक्तिको मौका पाउने बताए । ‘संगठनको नीति एउटा र व्यक्तिको स्वार्थ अर्कै हुँदा काममा तारतम्य नमिलेर प्रतिफल प्राप्त हुँदैन । छानबिन समितिमा रहेका सबैले फिल्डमै पुगेर वास्तविकता केलाउनुपर्छ । स्वार्थ बाझिने गरी छानबिन गर्न हुँदैन,’ उनले भने ।
एसपी खड्का २०८० साल फागुन पहिलो साता मोरङ हाजिर भएका हुन् । तस्करको समूहसँग मिलेमतो गरी नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको आरोप उनीमाथि लागेको छ । तस्करी गरेर नेपाल भित्राइएका सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि छ । उच्च स्रोतका अनुसार विराटनगरका व्यापारी विनोद केशरीले लगभग १ महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयमा उजुरी परेको थियो ।
खड्कालाई गत बिहीबार नै हेडक्वार्टर (सशस्त्र प्रहरी मुख्यालय) तानिएको छ । तस्करीसँग साँगगाँठ गरेर असुली गरेको र तस्करीको चिनी छाडेको उजुरी परेपछि कारबाहीका लागि भनेर उनलाई हेडक्वार्टर तानिएको हो । मोरङ आएयता तस्करी गरिरहेको समूहसँग सम्बन्ध राम्रो बनाएर लाइन चलाउन सहयोग गरिदिएको र त्यसवापत तस्करीमा संलग्नबाट उनले मोटो रकम बुझ्दै आएको सशस्त्रका एक अधिकृत बताउँछन् ।
डीआईजीमाथि खै छानबिन ?
एसपी खड्कामाथि मात्रै हैन, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी शम्भु सुवेदीमाथि नै तस्करीको लाइन चलाएको आरोप लागिरहेको छ । गत वैशाखयता नेपाल–भारत सीमा क्षेत्रमा तस्करको रजगज चलिरहेको छ । सशस्त्रसमेतका निकायसँग लाइन मिलाएर भयंकर तस्करी भइरहेको हो । पछिल्लो समय कोशीका झापा, सुनसरी र मोरङमा तस्करी अचाक्ली बढेको छ ।
तस्करको समूहलाई साथ दिएर कुस्त कमाई गरिरहेको आरोप डीआईजी सुवेदीमाथि लागेको हो । तर, समिति बनाएर एसपी खड्कामाथि छानबिन सुरु गरिएको बताउने सशस्त्र प्रहरी मुख्यालय सुवेदीको हकमा भने मौन छ । उनलाई भने मुख्यालयबाटै संरक्षण मिलिरहेको छ । सुवेदीमाथि छानबिन किन भइरहेको छैन भनेर प्रश्न उठेको छ ।
जानकारहरुका अनुसार सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको हो । भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ ।
सशस्त्रको कोशी प्रदेश प्रमुख हुँदा डीआईजी अन्जनीकुमार पोखरेलले संस्थागत रूपमा हुने तस्करी ठप्प पारेका थिए । १४ महिना कोशीमा सशस्त्रको नेतृत्व गरेर बस्दा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका पोखरेलले खेलेका थिए । तर, डीआईजी सुवेदी आएदेखि नेपाल–भारत सीमा क्षेत्रमा तस्करको चलखेल व्यापक बढेको छ । लाइन चालु भएर खुलेआम तस्करी भइरहे पनि नियन्त्रणका लागि सशस्त्रले चासो दिएको छैन ।
सशस्त्रको मुख्य जिम्मेवारी नै सीमा सुरक्षा र तस्करी नियन्त्रण हो । सशस्त्रको संरक्षणमा तस्करी व्यापक हुन थालेपछि तस्करको समूहसँग पैसा असुलेर लाइन चलाउन मद्धत गरेको आरोप सुवेदीमाथि लागेको हो । यस विषयमा पटकपटक सार्वजनिक हिसाबले कुरा उठिरहेको छ । तस्करी नियन्त्रणको प्रयास भने भएको छैन ।
सीमा क्षेत्रका सशस्त्रका सबैजसो युनिट र त्यहाँका इन्चार्जहरु तस्करसँग साँठगाँठमा रहेको स्रोतले बतायो । तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरुसँग मिलिरहेको सीमा क्षेत्रका एक जना वडाध्यक्षले बताए । व्यापक मात्रामा रातारात तस्करी भइरहेको उनले बताए । भने, ‘तस्करी रोक्न बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिन्छ । सशस्त्र मिलेको छ । मिलेमतोमै काम भइरहेकाले नियन्त्रणका लागि चासो नदिएको हो ।’
उनले सशस्त्र, भन्सार, राजस्व अनुसन्धानलगायतका निकायको ‘सेटिङ’मा तस्करीको धन्दा चल्दा राज्यको राजस्व संकलनमा असर परिरहेको बताए । यस विषयमा बुझ्न खोज्दा डीआईजी सुवेदी र सशस्त्रका प्रदेश प्रवक्ता एसएसपी मनिष थापा सम्पर्कमै आउन चाहेनन् । फोन गर्दा दुवै जनाले उठाएनन् ।
Discussion about this post