विराटनगर । विभिन्न खेलकुद प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका करिब २ सय खेलाडीलाई आइतबार विराटनगरमा सम्मान गरिँदै छ ।
अन्तरप्रदेश राष्ट्रिय खेलकुद र १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले सम्मान गर्ने भएको हो । खेलाडी सम्मान कार्यक्रमका बारेमा बोर्डले शनिबार प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशभित्रका पदक विजेता खेलाडीसहित करिब दुई सय जनालाई सम्मान गरिने बताए । उनका अनुसार अन्तरप्रदेश राष्ट्रिय खेलकुद र १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकहरुलाई नगदसहित सम्मान गरिने छ । यसवर्ष छोटो समयमा खेलकुदका प्रतियोगिता सञ्चालन गर्न बोर्ड बाध्य भएको र आगामी वर्षदेखि वार्षिक क्यालेन्डर बनाएर प्रदेशमा खेलकुदका गतिविधिलाई अगाडि बढाइने जानकारी बस्नेतले दिए ।
उनका अनुसार जिल्ला खेलकुद विकास समितिहरुमा आवश्यक खेल प्रशिक्षकहरुको व्यवस्था गरेर प्रदेशमा खेलाडी उत्पादनलाई प्राथमिकतामा राखिने छ । राष्ट्रिय खेलकुद परिषद् मातहत रहेका कर्मचारीहरुको समायोजन र सम्पत्ति हस्तान्तरणको कामलाई पनि तीव्रताका साथ अघि बढाइने बस्नेतको भनाइ छ । विराटनगर महानगरपालिका–१९ मा रहेको वैजनाथपुर रंगशालालाई केन्द्रसँग समन्वय गरेर प्रदेश सरकारको मातहतमा ल्याउन र निर्माण कार्य सम्पन्न गर्न पहल गरिने उनले बताए ।
आगामी वर्षदेखि खेलाडीको उत्पादन गर्न ग्रासरुट कार्यक्रमलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता सञ्चालन गर्ने तयारी बोर्डको छ । बोर्डले विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई पनि विशेष जोड दिने सदस्यसचिव बस्नेतको भनाइ छ ।
Discussion about this post