विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशमा सरकार छाड्ने भएको छ । केन्द्रीय गठबन्धन अनुसार यसअघि नै माओवादीले सरकार छाड्नुपर्ने थियो । तर, सत्तालिप्साको आरोप झेल्दै भएपनि माओवादी नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा बसिरहेको थियो ।
प्रदेशमा सरकार नछाडेको भनेर माओवादीको चौतर्फी आलोचना भइरहेको छ । सम्भवतः आजै सरकारबाट बाहिरिने माओवादीको तयारी छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि माओवादीले भने प्रदेश सरकार छाडेको थिएन । नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेको थियो । कोशीमा भने सत्तामै थियो ।
केन्द्रीय गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने दबाब मुख्यमन्त्री कार्कीलाई भए पनि उनले माओवादीका मन्त्रीलाई हटाउन सकिरहेका थिएनन् । कार्की नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री छन् । बन्दना झागड राज्यमन्त्री छिन् ।
स्रोतका अनुसार माओवादीका मन्त्रीहरु राजीनामा दिनलाई मुख्यमन्त्रीको समय पर्खिएर बसेका छन् । मुख्यमन्त्रीबाट समय पाउनेवित्तिकै राजीनामा दिएर सरकार छाड्ने माओवादीको तयारी छ ।
स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले माओवादी अब प्रदेश सरकारबाट बाहिरिने बताए । केन्द्रमा गठबन्धन परिवर्तन भइसकेका कारण प्रदेशमा पनि माओवादीले सरकार छाड्न लागेको उनको भनाइ छ । सरकार कहिले छाड्नेभन्ने टुंगो चैं छलफलपछि लाग्ने जानकारी कार्कीले दिए ।
Discussion about this post