विराटनगर / नेपालमा चार पाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगन्ज भन्सार कार्यालयबाट चार पाङ्ग्रे सवारीको आयात घटेको हो ।
चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २०८०/८१ को सोही अवधिमा रु ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो।
आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चार पाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए।
चालु आव २०८१/८२ को भदौ मसान्तसम्ममा रु छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन्। आव २०८०/८१ को सोही अवधिमा रु १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए। गत आवको तुलनामा चालु आवमा छ दशमलव ९० प्रतिशतले आयात घटेको हो।
चालु आवको भदौ मसान्तसम्ममा रु छ करोड दुई लाख २६ हजार मूल्य पर्ने २८ वटा ट्रक, मिनी ट्रक आयात भएको छ। गत आवको सोही अवधिमा रु १६ करोड ८० लाख ८१ हजार मूल्य पर्ने ६८ वटा ट्रक, मिनी ट्रक आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनी ट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो।
चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्य पर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ। गत आवको सोही अवधिमा रु नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ।
चालु आवको भदौ मसान्तसम्ममा रु १७ करोड २४ लाख चार हजार मूल्य पर्ने ७६ वटा मिनिबस र माइक्रो बस आयात भएको छ। गत आवको सोही अवधिमा रु सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनिबस र माइक्रो बस आयात भएको थियो। चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रो बसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ।
चालु आवको सुरुवाती दुई महिनामा चार पाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुई पाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ। चालु आवको भदौ मसान्तसम्ममा वीरगन्ज भन्सार हुँदै रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने रु १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएको छ।
गत आवको सोही अवधिमा रु एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
Discussion about this post