काठमाडौँ – अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना बेपत्ता भएका छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।
उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ।
यसैगरी काभ्रेको पनौती नगरपालिका-११ थुम्की भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको छ । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।
यस्तै धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।
यस्तै झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा(३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।
शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ ।
Discussion about this post