प्रमीला कार्की/काठमाडौं : काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरूले दुखेसो गरेका छन् ।
दशैंको मुखमा अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गाउँ जानेहरूको संख्या घटेसँगै व्यापार घटेको व्यापारीहरूको भनाइ छ ।
बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरू अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरूको भनाइ छ ।
उपत्यकाका मुख्य बजारहरू असन, न्यूरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरूको संख्या विगतको तुलनामा कम देखिएको छ ।
असनका व्यापारी लक्ष्मण भुसालले पहिलेको तुलनामा यस वर्ष व्यापारमा निकै कमी आएको बताए ।
‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढीपहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरू बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन । देशसँग नै पुँजी छैन । विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उनले भने ।
काठमाडौं महानगरमा फुटपातका पसलहरू हटेका कारण पनि बजार खस्किएको व्यापारीहरूको भनाइ छ । ‘पहिले–पहिले पसलका सामानहरू फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरू पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’असनकै अर्का व्यापारीले भने ।
काठमाडौं उपत्यकाभित्रका पसलहरूमा ७० प्रतिशतले व्यापार घटेको उनीहरूको भनाइ छ । विगतका वर्षहरूमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरूको भनाइ छ ।
Discussion about this post