इटहरी : स–साना बालबालिकाहरू खेलिरहेका छन् । कोही भने रोइरहेका छन्, कोही हाँसिरहेका । कोही कपडा धुनमा व्यस्त छन् त कोही नुहाइरहेका, कोही भने पढिरहेका छन् ।
इटहरी ४ स्थित निःसहाय बाल आश्रममा देखिएको दृश्य हो, यो । २२ वर्षको उमेरदेखि नै बालबालिकाको सेवामा जीवन समर्पित गरेकी गीता गौतमका अनुसार हालसम्म साढे तीन सय भन्दा बढी बालबालिकाहरू यस आश्रमबाट हुर्किसकेका छन् ।
‘मैले भारतमा जागिर गरेँ । भारतमा पनि यस्तै बच्चाहरूको आश्रममा काम गरेपछि नेपाल आएर निःसहाय बालबालिकाको सेवा गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘म सानो हुँदा कुकुरका बच्चाहरूसँग झुम्मिन्थेँ । तिनीहरू पनि एक्लै भएकाले खाना दिन्थेँ । त्यतिकैमा सेवा भाव जाग्यो ।’
उनले आफू सानै हुँदा नै आमा–बुबा गुमाउनुपरेकाले मातापिताको स्नेहको अभाव महसुस गरेका कारण बाल आश्रमको परिकल्पना गरेको सुनाइन् ।
‘म एउटा नेपाली हुँ, मैले नेपालमै जानुपर्छ भनेर दुःख सुख जे जस्तो भएपनि गर्नुपर्छ भनेर म इन्डियाबाट यहाँ आएकी हुँ,’ उनले विगत स्मरण गरिन्, ‘म आफू अनाथ भएकाले ती अनाथहरूलाई चाहिँ सहयोग गरौँ भनेर जीवन यसैमा समर्पण गरेँ ।’
जीवनमा सबैभन्दा महत्वपूर्ण भूमिका आमाको हुने उनले सुनाइन् । भनिन्, ‘आमाको भूमिका मैले निर्वाह गर्दा उनीहरूको राम्रो भयो भने हामीलाई त्यही हो सुख, खासमा भन्ने हो भने जीवनमा सबैभन्दा महत्वपूर्ण भूमिका आमाको हुन्छ ।’
उनी आमा बन्नलाई बिहे नै गर्नुपरेन । अविवाहित रहेरै पनि दर्जनौँ छोराछोरीकी आमा गीताले गरेको कर्मले नै उनलाई खुशी र आनन्दित बनायो । अहिले यस बाल आश्रममा ४८ जना बालबालिका छन् । जसमध्ये २७ जना बालिका छन् भने २१ जना बालक छन् । दुई वर्षदेखि २३ वर्ष सम्मका बालबालिका यहाँ बस्दै आएका छन् ।
कतिपय भने अवैधानिक सम्पर्कबाट जन्मिएका बच्चाहरू यस आश्रमबाट हुर्काएको उनले बताइन् । बालबालिकाहरूलाई हुर्काउने, पढाउने, बढाउने र उनीहरूको जीवन फक्राउने कार्य गर्दै आएको गीता बताउँछिन् । हुन पनि हो, आफ्नो जीवन विस्तारै वैलिदैँ गएपनि उनले कयन् कोपिलाहरूलाई फूलजस्तै फक्राइरहेकी छिन् । त्यसैले त उनी भन्छिन्, ‘म ७४ वर्षको उमेरमा पनि सुत्केरी नै हुँ । अहिले पनि दूधे बच्चाको स्याहार गरिरहेको छु । जतिन्जेल सक्छु, त्यतिन्जेल गर्छु । अब नसकेको दिन त त्यस्तै हो । त्यसैले भन्छु, म त अहिले पनि सुत्केरी नै हुँ ।’
जन्मिएको एक दिनदेखिकै बच्चासमेत बालआश्रममा ल्याएको उनले स्मरण गरिन् । ‘कोही हस्पिटल जन्माएपछि पुलमुनी फ्यालेर हिँडेका, कोही जंगलमा फ्यालेका, कोही बाटोमा भेटिएका बच्चाहरूलाई हामीले यहाँ ल्याएर हुर्काएका छौँ,’ उनी भन्छिन्, ‘प्रहरीको रोहबरमा, प्रशासनसहितको उपस्थितिमा सिफारिस गरेपछि हामीले बच्चाहरू बुझ्ने गरेका छौँ । जसकारण भोलिका दिनमा सरकारी निकायमा कागजपत्र बनाउन पनि सजिलो हुन्छ ।’
यसअघि प्रशासनकै अनुमति र सिफारिसबाट मात्रै बच्चालाई पालनपोषण गर्ने भएकाले सरकारी निकायमा भने झण्झट व्यहोर्न नपरेको उनले सुनाइन् । यहाँ आश्रित बालबालिकाहरू सक्षम नहुन्जेल उनीहरूले पढाइ लेखाइ गर्ने र कतिपय भने यहीँ बस्ने, कोही विदेश जाने, कोही विहेबारी गरी अरूतिरै जाने गीता बताउँछिन् ।
‘विदेशमा बस्ने छोराछोरीले के चाहियो भनेर सोध्छन्,’ हाँसोमिश्रित भावमा उनले भनिन्, ‘उनीहरूकै जीवन चलाउनुपर्छ, त्यसैले केही भन्दिन । खासमा भन्ने हो भने यसो चाहियो भनेर माग्न मन लाग्दैन ।’
उनले हालसम्म सहयोगबाटै उक्त आश्रम सञ्चालन भइरहेको जनाइन् । मासिक खर्च डेढ लाखभन्दा बढी हुने बताउँदै उनले विभिन्न सहयोगीबाटै आश्रम चलेको उदृत गरिन् । ‘कतिपय मानिसहरू जन्मदिन मनाउन आउनुहुन्छ, खुशी लाग्छ,’ उनी भन्छिन्, ‘कतिपय सरकारी निकायबाट पनि सहयोग प्राप्त हुन्छ । तर, सरकारी निकायमा धेरैपटक धाउनुपर्ने बाध्यता छ ।’
कसैले महिनावारी मुठ्ठी दान दिने र कसैले आफ्ना पितृको श्रद्धामा सहयोग गर्ने गरेको उनले बताइन् । ‘जसले जस्तो खालको सहयोग गर्नुहुन्छ, त्यस्तै खालको सहयोग गर्दै आउनुभएको छ,’ उनले भनिन्, ‘त्यसैबाट हामीले खर्च चलाउँदै आएका छौँ ।’
उनले बालबालिकाहरूलाई स्याहार गर्न, सुताउन, उठाउन र उनीहरूको हेरचाह गर्नै भ्याइनभ्याइ हुने सुनाइन् । ‘बच्चाहरूलाई माया चाहियो । उनीहरूलाई छातीमा च्यापेर सुताएपछि आनन्दले सुत्छन्,’ उनी भन्छिन्, ‘आफूलाई दुःख भएपनि केही फरक पर्दैन । यो शरीर त एक दिन गल्ने न हो ।’
यसरी सोच्दा उनी मैनबत्ती पनि हुन् । मैनबत्तीले आफू सकिदैँ गएपनि अरूलाई उज्यालो दिन्छ । सोही उदाहरण दिदैँ गीताले भनिन्, ‘हामीले मैनबत्तीको एउटा सहारा लिएका छौँ । खासमा मैनबत्तीले अरूलाई उज्यालो दिएर आफ्नो जीवन सकिदैँ गएको हुन्छ, हाम्रो जीवन पनि त्यस्तै हो ।’
उनले जीवन रहुन्जेलसम्म राम्रो काम गर्नुपर्नेसमेत सुझाइन् । ‘आखिरी यो हाड र छालाको शरीर के गर्ने ? हामीले अरूलाई राम्रो गरेर मर्यौँ भने पो जीवन सार्थक हुन्छ,’ उनले थपिन् ।
२०३८ साल वैशाख २९ गते देखि सुरु भएको उक्त आश्रम २०४४ सालमा दर्ता भएको थियो ।
सुरुआती दिनमा तीनजना बच्चा राखेर सुरु गरिएको आश्रमबाटै हुर्किएका ३७ जना छोरी र चारजना हरूको विवाह भइसकेको छ । ‘कतिपय त लभ म्यारिज गरेर पनि गए । मलाई पनि बोलाएका थिए, भ्याएको अवस्थामा पुगेँ,’ गीता भन्छिन्, ‘सबैले राम्रै घरजम गरेका छन्, खुशी लाग्छ ।’
यहाँका बालबालिकाहरू विभिन्न विद्यालयमा अध्ययन गर्दै आएका छन् । धेरैजसो बालबालिकाहरू निजी विद्यालयमै अध्ययनरत छन् । ‘कतिपय विद्यालयबाटै किताब, कापी र स्कुलको पोसाक पनि आउँछ, तर कतिपयमा आफैँ किन्नुपर्छ,’ गीताले भनिन्, ‘धेरैजसो विद्यालयले त निःशुल्क नै पढाएर सहयोग गरिरहनुभएको छ ।’
आश्रमको दसैँ कस्तो ?
नेपालीहरू दसैँको संघारमा छौँ । यसैबीच उक्त आश्रमको दसैँ चैँ कस्तो हुन्छ ? यसबारे गीताले यहाँ सबै चाडपर्व मनाइने र तीजदेखि दसैँ, तिहार र छठ पर्वसम्म मनाइने उदृत गरिन् ।
‘यहाँबाट हुर्किएका छोराछोरीहरू नेपालमा हुने र नजिकै हुनेहरू टीका लगाउन दसैँमा आउँछन् । आउन नभ्याउनेहरूसँग फोनमै कुरा हुन्छ, कहिलेकाहीँ एक महिनाका लागि आउँदा यहीँ बस्न पनि आउँछन्,’ उनी भन्छिन् ।
दसैँ आउँदा यहाँका बालबालिकाहरू पनि खुशी हुने गरेको उनको भनाइ छ । विदेशबाट आउनेहरूले सहयोग गर्ने, कसैले कपडा ल्याइदिने गर्दा बालबालिकाहरू पनि खुशीले रम्ने गरेको उनले सुनाइन् ।
‘अब दसैँको समयमा यी नानीहरूलाई नयाँ लुगा चाहिएको छ, कतैबाट सहयोग पाइयो भने ठीकै छ, नत्र जोहो त गर्नुपर्छ,’ उनले भनिन् । उनले यो दसैँमा कोही भोका बस्न नहुनेसमेत बताइन् ।
‘मलाई त कस्तो लाग्छ भने बरू आफू भोको बस्दा केही हुँदैन, अरू चैँ कोही भोकै नबसुन् जस्तो लाग्छ,’ गीताले भनिन्, ‘हजुरहरूको दैलोमा आएको दसैँले सबैलाई खुसी ल्याओस् ।’
यी र यस्तै कर्मका कारण गीता आमा सयौँ मानिसहरूका लागि उदाहरणीय पात्र बनेकी छन् । यस्ता आमाहरूकै कारण आज जीवन र मरणको दोसाँधमा रहेकाहरू नयाँ जीवन पाएका छन् । गीता आमाहरूजस्तै मैनको उज्यालो दिने आमाहरूको दीर्घायुको कामनासहित दसैँको शुभकामना …
Discussion about this post