काठमाडौँ : दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, “घर चलाउन, घरै छाड्नुपर्यो ।” घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो ।
कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन नसकेपछि विदेशिएको उनी बताउँछिन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो ।
उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन । तर, लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन् । “सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र ?”, उनले भनिन्, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।”
गिरीसँगै कामदारका रूपमा विदेश जान आठ महिला तयार थिए । ती सबै आमाहरू हुन्। त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारीको मुलुकमा कसरी काम गुर्नहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, “जे त होला ।”
तामाङले ५ कक्षासम्म मात्रै पढेकी छन् । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेशिनु कुनै महत्वाकाङ्क्षा नरहेको उनको भनाइ छ । “यो मेरो बाध्यता हो”, उनी भन्छिन्, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरूरी पर्छ तर गरिबीले विदेशिने बनायो ।”
तामाङका श्रीमान् सवारी चालक हुन्। सुकुम्बासी बस्तीमा बस्ने उउनीहरूको जग्गा जमिन छैन । घर चलाउन श्रीमानलाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उनले आफैँ विदेशिने निधो गरिन् । “नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेशिनुको विकल्प देखिँन”, उनले भनिन्।
स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन् । आफूले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएपनि छोराछोरी पढाउन र हुर्काउन गाह्रो भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन्। भनिन्, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरूकै भविष्यका लागि विदशिन लागेकी हुँ ।”
वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत, ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ ।
विभागकाअनुसार बर्सेनी ६० हजार हाराहारीको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८।०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७९।०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०।८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या वृद्धि भई ८० हजार पुगेको छ ।
वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले तुलनात्मक रूपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिएपनि पछिल्लो तथ्याङ्कले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताए । उनकाअनुसार खाडी मुलुक जाने महिलाको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।
“अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भने, “त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरूको तथ्याङ्क पाउन मुस्किल छ ।”
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउँछिन्।
आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भनिन्, “आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।” राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उनको भनाइ छ । पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरू परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरू मुख्य छन् ।
संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन् । बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन् ।
“नेपाली समाजमा महिलाले थुप्रै विभेद सहन बाध्य छन्”, उनी भन्छिन्, “जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।” आमाहरूलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील नीति ल्याउन जरूरी रहेको उनको भनाइ छ । –रासस
Discussion about this post