धरान । धरानमा जारी सातौँ हराइजन राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० स्कोरको फराकिलो मतान्तरले पराजित गरेको हो । पुलिसलाई १००–७० को स्कोरमा आर्मीले पराजित गर्यो । आर्मीले प्रत्येक क्वाटरमा १८–१६, २६–२२, ३५–११ र २१–२१ को स्कोर बनाएको थियो ।
हराइजन बास्केटबलको पाँचौँ संस्करणको विजेता तथा अघिल्लो संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबले सातौँ हराइजन राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि जित्दै नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता पुलिसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलमा म्यान अफ द म्याच आर्मीका रोबिन खत्री घोषित भए । उनले नगद ३ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका उदयीमान खेलाडी हराइजन क्लबका सर्वधन राई भए । मोस्ट भेलुएबल प्लेयर घोषित हुँदै आर्मीका निश्चल महर्जनले नगद १० हजार र ट्रफी प्राप्त गरे । वेस्ट कोच आर्मीकै पूर्णबहादुर खड्का बने ।
विजेतालाई धरानका उपमेयर अइन्द्र विक्रम बेघा, वडाध्यक्षहरू मुरारी भट्टराई, प्रवीण राई, विवेक राई, कार्यपालिका सदस्य सिर्जना नेपाललगायतले पुरस्कार प्रदान गरे । समापन समारोहमा सञ्चारकर्मी लक्ष्मण थापालाई सम्मान गरिएको थियो । यसै गरी स्थानीय ज्येष्ठ नागरिक विश्नाबहादुर राई, रणबहादुर सुनुवार, रत्नबहादुर राई, इन्द्रकुमारी राई र आशा राईलाई सम्मान गरिएको थियो ।
Discussion about this post