इटहरी : कोशी प्रदेशको केन्द्रबिन्दु हो, इटहरी । आफूलाई विकसित सहरका रूपमा दाबी गरिरहेको इटहरीमा सुविधा सम्पन्न अस्पताल नहुँदा दैनिक जसो दर्जनौँ बिरामीहरूले सास्ती खेप्दै आएका छन् ।
खासगरी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनताका हरेक दलहरूले इटहरीमा सुविधा सम्पन्न अस्पताल बनाउने र स्वास्थ्यको विषयमा गम्भीर रहेको मुद्दा उठाएपनि त्यो चुनावी नारामा मात्रै सीमित हुँदै आएको छ ।
इटहरीले राम्रो अस्पताल नपाउँदा दैनिक जसो यहाँका बिरामीहरू धरान र विराटनगर धाउनुपर्ने बाध्यता अन्त्य हुन सकेको छैन । राज्यले हरेक पटक बजेट भाषणमा स्वास्थ्यलाई धेरै बजेट छुट्टाएको दाबी गरिरहेपनि त्यो ‘भाषण’मै मात्र सीमित हुँदै आएको विद्यमान अवस्था छ ।
यसैबिच इटहरीमा १५ बेडको अस्पताल थप हुने भएको छ । इटहरी ४ स्थित श्री कृष्ण प्रणामी मन्दिर नजिक १५ बेडको अस्पताल थप हुन लागेको हो । श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालले अस्पताल निर्माण सुरु गरेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
झन्डै १० करोड बढीको लागतमा निर्माण सम्पन्न हुन लागेको अस्पतालको आगामी चैत्र अन्तिम सम्ममा सकिने प्रतिष्ठानका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए । अस्पताल निर्माणका लागि समुदायस्तरबाट आर्थिक स्रोत जुटाएर अस्पताल निर्माण भइरहेको जनाइएको छ ।
यसमा प्रदेश सरकारले ४५ लाख र इटहरी उपमहानगरले दुई चरणमा गरी ३० लाख रुपैयाँ दिएको छ,’ घिमिरेले भने, ‘बाँकी रकम समुदाय र सहयोगीसँग सङ्कलन गरिरहेका छौँ ।’ उनले उक्त अस्पताल व्यावसायिक मुनाफाका लागि नभई सेवामूलक हिसाबमा सञ्चालन गर्ने उद्देश्य लिएको बताए । हालसम्म ८० प्रतिशत काम सकिएको अध्यक्ष घिमिरेले बताए ।
‘अहिले समितिले काम गरिरहेको छ । आर्थिक पारदर्शीताका कुरा त्यही समितिले हेरिराखेको छ,’ घिमिरे भन्छन्, ‘अस्पताल निर्माण भइसकेपछि अर्को समिति गठन हुने र त्यही समितिले अस्पताल सञ्चालन गर्नेछ । यो व्यावसायिक अस्पताल नभई सेवामूलक हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
Discussion about this post