युवा उद्यमीसँग प्रदेश खबर
इटहरी : उनी र उनका उमेर समूहकाहरू कहिले विदेश जाने त कहिले भविष्य सुनौलो बनाउनेबारे भौँतारिरहेका हुन्छन् ।
कहिले रोजगारीको छटपटीमा त कहिले पढाइको चिन्ताले नै आफ्नो भविष्यबारेका थुप्रै योजनालाई बिचमै छाड्नुपर्ने बाध्यता पनि छ । तर, विराटनगरका २५ वर्षीय आयुष भगत बरालिएर हिँड्ने उमेरमै उद्यमी बन्ने सपना देखे । फलस्वरूप उनी आज युवा उद्यमीको रूपमा परिचय स्थापित बनाउने प्रयत्नमा छन् ।
क्यूरा हेल्थ एपमार्फत अहिले सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका उनी भन्छन्, ‘मैले २१ वर्षको उमेरमै यो एप बनाउने कन्सेप्ट ल्याएँ । आज यो एपमा करिब ४५ हजार सेवाग्राही जोडिनुभएको छ ।’
खासगरी उक्त एपमा डाक्टरको सेवा, सुविधा उपलब्ध हुने गरेको छ । जहाँ डाक्टरसँग परामर्श गर्न कुनै शुल्क तिर्नुपर्दैन । तर, आफूले चाहेको डाक्टरलाई र चाहेको हस्पिटलमा सेवा लिनका लागि भने अस्पताल नपुगीकन एपमार्फत नै पुर्जी काट्न सकिन्छ । ल्याब टेस्ट गर्नुपरे घरमै पुगेर सेवा दिइरहेको उनले सुनाए ।
उनका अनुसार अहिले विराटनगर र इटहरीमा घरमै पुगेर सेवा प्रदान गर्दै आइएको छ । ‘सेवाग्राहीले जुन हस्पिटलको ल्याबमा चाहनुहुन्छ, हामी त्यही ल्याबमा स्याम्पल पठाउँछौँ,’ उनी भन्छन्, ‘नमुना सङ्कलन गर्नका लागि घरमै पुग्छौँ । घरमै पुगेर सेवा दिएबापत एक्स्ट्रा कुनै शुल्क तिर्नुपर्दैन ।’
काठमाडौँ र विराटनगरमा २२ जनाको टिमले सेवा प्रदान गरिरहेको उनी बताउँछन् । उनले नेपालमै पनि उद्यममार्फत समाजमा स्थापित हुने सुनाए । युवाहरूले रिस्क लिन सक्नुपर्ने उनको बुझाई छ ।
‘नेपालमा धेरै स्पेस र सम्भावना छ, तर रिस्क लिन सक्नुपर्छ,’ उनी भन्छन्, ‘युवाहरूले व्यवसाय गर्न चाहँदा र त्यस क्षेत्रमा अनुभव बढ्दै जाँदा कुनै पनि समस्यालाई समाधान गर्न सकिन्छ । हामीले आत्तिएर होइन, आँट लिएर अगाडि बढ्नुपर्छ ।’
उनले व्यवसाय सुरु गर्दा सुरुआती दिनमा एउटा आइडिया आउने र उक्त आइडियालाई निरन्तरता दिए सफल हुने बताए । नेपालमा केही हुँदैन वा केही छैन भनेर अहिल्यै निराशा बन्ने अवस्था भने नरहेको उनको बुझाई छ ।
‘नेपालमा थुप्रै अवसर र सम्भावना छ । त्यसैले पनि यहीँ केही गर्नुपर्छ । नेपालमै बसेर पनि केही त गर्नै सकिन्छ, यसबारे एक पटक सोच्न आवश्यक छ,’ प्रदेश खबरसँगको कुराकानीमा भगत भन्छन्, ‘आफ्नै देशमा बसेर, आफ्नै देशको लागि केही गर्नुको मज्जा भिन्नै छ ।’
उनले उद्यम क्षेत्रमा लगानी गर्न युवाहरू इच्छुक रहेपनि सरकारी निकायको झन्झटिलाहरू रहेको बताए । युवा उद्यमीका लागि सरकारी निकायबाट खासै सहयोग नभएपनि पछिल्लो समय ‘स्टार्टअप बिजनेस’का लागि २५ लाख ऋण लगानी गर्ने कुरा सकारात्मक रहेको उनी बताउँछन् ।
‘सरकारले ऋण दिने कुरा सकारात्मक भएपनि यो प्राप्त गर्न निकै झन्झटिलो छ । कुनै मानिसले लगानी गरेर व्यवसाय सञ्चालन गर्नुपर्दा कम्पनी दर्ता गर्ने लेन्दी प्रोसेस छ,’ उनी भन्छन्, ‘व्यवसाय गर्नका लागि सरकारी निकायबाट धेरै कुरा झन्झटिलो छ । एउटा फर्म भरेर हुन कुरा अनेक पटक सरकारी कार्यालय धाउनुपर्छ ।’
उनले सरकारले फन्डिङको कुरामा सहज बनाएमा लगानी गर्न युवाहरू इच्छुक हुने बताए । व्यवसाय स्टार्टअप गर्ने युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, ‘सरकारी निकायबाट युवा उद्यमीलाई गाइडेन्स र मेन्टोरसिप प्रदान गर्न आवश्यक छ । युवालाई इनोभेट गर्नुपर्छ । यसका लागि वर्कसप नै चलाउन आवश्यक छ ।’
उनी खासगरी सफ्टवेयर इन्जिनियर हुन् । भारतमा गएर आइटी विषय अध्ययन गरेका उनले व्यवसाय क्षेत्रमै राम्रो काम गर्न सकिन्छ भन्ने बोध भएकाले लगानी गरेको बताए । ‘बाहिर गएर, काम गरेर पनि नेपालमै केही गर्नुपर्छ भन्ने बोध भयो,’ उनी भन्छन्, ‘म सफ्टवेयर इन्जिनियर पढेर काम गर्दै अगाडि बढेँ । काम गर्दै गएपछि मोटिभेसन आयो । अनि अझै राम्रो गरौँ भन्ने भयो ।’
कसरी जोडिने एपमा ?
क्यूरा हेल्थको एप प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिने उनले बताए । एप डाउनलोड गरिसकेपछि त्यहाँ आफूले खोजेको र चाहेजस्तो डाक्टरबारे जान्ने मौका मिल्छ । जसले गर्दा आफ्नो समस्या फोन वा एसएमएसबाटै राख्न सकिन्छ ।
समस्या राखेपछि डाक्टरले एउटा निश्चित समय दिने र सोहीअनुसार परामर्श दिनेछन् । यसैगरी डाक्टरलाई देखाउनै पर्ने भएको अवस्थामा भने अनलाइनबाट पुर्जी काट्न मिल्नेछ । जसको शुल्क हस्पिटलमा लाइन लागेर तिरे जति नै रहेको छ भने अन्य खर्च तिर्नुपर्दैन ।
यसैगरी ‘होल बडी चेकअप’देखि विभिन्न टेस्ट गर्न घरसम्मै नमुना सङ्कलन गरिन्छ । यो सुविधा अहिले काठमाडौँ उपत्यका, विराटनगर र इटहरीमा रहेको छ । नमुना दिएपछि आफूले चाहेकै हस्पिटलमा उक्त टेस्ट गर्न सकिने र त्यसको खर्च भने अनलाइन वा नगद दुवै गर्न सकिन्छ ।
‘बिरामी आफैँले म यो ल्याबबाट सेवा लिन सक्छु भनेर भनिएमा हामी घरमै पुगेर नमुना सङ्कलन गरी ल्याबमा पटाउँछौँ,’ भगतले भने, ‘यसको अन्य कुनै खर्च लाग्दैन ।’
उनका अनुसार विराटनगरको विराट नर्सिङ, एनआरएल, लाइफ गार्ड हस्पिटल, फोकस डाइग्नोष्टिकसँग सहकार्य गरेर सेवा दिइँदै आएको छ । विराटनगर वा इटहरी क्षेत्रका सेवाग्राहीले चाहेको अवस्थामा काठमाडौँको ए ग्रेडको ल्याबमा पनि टेस्ट गराउन सकिने उनले बताए ।
‘हामीले यसबाहेक अरू विभिन्न सहरमा पनि टार्गेट गरिरहेका छौँ । ल्याब टेस्ट भइसकेपछि इमेलमा तपाईँको रिपोर्ट प्राप्त हुन्छ । उक्त रिपोर्टको आधारमा मोबाइलबाटै डाक्टरले औषधी लेखिदिने र सोही आधारमा औषधी सेवन गर्न सकिन्छ,’ उनले थपे ।
शून्यबाट सुरु गरिएको उक्त एपमा अहिले करिब ४५ हजार युजर जोडिनुले आफूहरूलाई व्यवसायमा थप प्रोत्साहित भएको उनी बताउँछन् । एपमार्फत थप सेवा उपलब्ध गराउने तयारीसमेत रहेको उनको भनाइ छ ।
खासगरी कोभिड १९ को समयमा स्वास्थ्यमा समस्या हुँदा उपचार पनि गर्न कठिन भएको समयमा उक्त कन्सेप्ट ल्याइएको उनले बताए । उनले आफूहरूको सेवा विश्वसनीय भएको दाबी गरे । लगनशीलता र मिहिनेतका कारण व्यवसाय क्षेत्रमै स्थापित हुन चाहेका उनीजस्तै युवाहरूका निम्ति राज्यले युवामैत्री योजना ल्याउन आवश्यक देखिन्छ ।
यसरी उद्यम क्षेत्रमा स्थापित हुन खोजिरहेका आयुषजस्तै युवाहरूलाई राज्यले देशमै लगानी गर्ने वातावरण बनाउनका निम्ति सहजीकरण समेत गर्न आवश्यक देखिन्छ ।
Discussion about this post