मोरङ : मोरङमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट भएको छ । कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ११ घर भएका २४ वर्षीय “बब” भनेर चिनिने राजकुमार सहनी रहेका छन् ।
उनलाई आइतबार राति ९ बजेतिर प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि सोमबार जिल्ला अदालत मोरङमा “कुटपिट तथा अंगभंग” शीर्षकको मुद्दामा म्याद थप गरिएको छ ।
सहनीले स्थानीय कैलाश कुमार गुरुङलाई कुटपिट गरेका थिए । उनी जन्मजात नै बोल्न नसक्ने र कानसमेत कम सुन्ने (शारीरिक रूपमा फरक क्षमता) भएका व्यक्ति हुन् ।
कात्तिक ४ गते अपरिचित व्यक्तिले कुटपिट गरी फरार रहेको भन्ने उजुरीका आधारमा खोजतलास गर्ने क्रममा सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गुरुङको दुवै हात भाँचिएको र टाउकोमासमेत गम्भीर चोट लागेको छ । उनको अहिले प्रादेशिक अस्पताल कोशीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थलको सुक्ष्म अवलोकन तथा अनुसन्धान, गोप्य रूपमा सोधपुछ तथा सिसी टिभि फुटेज समेतको अध्ययन र विश्लेषण गरी कुटपिट गर्नेको पहिचान गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post