विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीबाट चोरी गरिएका सुनका गहना र नगदसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
बूढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार बूढीगंगा–२ का निर्मल बस्नेतको घरबाट बिहीबार राति सुनका गहना र नगद चोरी भएको थियो ।
घरका सबै सुतिरहेका बेला कोठाको दराजभित्र राखिएका डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने आठ आनाको रिङ, एक तोलाको सुनको औंठी एक जोडी, चार आनाको सुनको पेन्डल र ३० हजार रूपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ लाख ८० हजार मूल्य बराबरको चोरी भएको थियो ।
कोठाभित्रबाट चोरीमा संलग्नले प्रयोग गरेको मोबाइल फेला परेको डीएसपी जोशीले बताए । ‘सुनका गहना र नगद छोरी गरेपछि आफ्नो मोबाइल भने त्यही कोठामा छाडेर हिँडेको पाइयो,’ उनले भने, ‘उक्त मोबाइलकै आधारमा चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।’
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ प्रवीण खड्का नेतृत्वको टोलीले चोरीमा संलग्न किशोर खड्कालाई पक्राउ गरेको हो । चोरी भएका सुनका गहना र नगद २४ हजार २ सय रूपैयाँ खड्काको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।
Discussion about this post