निशा राई
धरान : नेपालीहरूको दोस्रो ठुलो चाड तिहार हर्षोल्लासको साथ मनाइरहेको बेला टिपरले किचेर मृत्यु भएकी धरान उपमहानगरपालिका–११ की भीमा राईको परिवार भने न्यायको पर्खाइमा छन् ।
सबैतिर तिहारको उल्लास हुँदा आफूहरू न्यायको पर्खाइमा रहेको परिवारले जनाएको छ ।
चाडबाडको समय भएकाले समानहरू किनमेल गर्न र पार्सल पु¥याउनका लागि मोरङ गएको समयमा गत कात्तिक ८ गते सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा दुर्घटना भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेर को २८ प ६१३२ नम्बरको स्कुटर चालक धरानकी भीमाको मृत्यु भएपछि अहिले पीडित परिवार न्यायको पर्खाइमा भौँतारिरहेका छन् ।
उक्त घटनापछि वैदेशिक रोजगारमा भर्खरै गएका मृतकका श्रीमान् खविराज राई रोजगार छाडेर घर फर्किएका छन् । श्रीमतीको मृत्युपछि न्यायको पर्खाइमा भौँतारिरहेका उनी बताउँछन् ।
‘घरपरिवारमा समस्या पर्दा र घर खर्च टार्नका निम्ति चार महिनाअघि मात्रै विदेश गएको थिएँ,’ उनले भने, ‘गएको लगानी पनि उठाउन नपाई रोजगारी नै छाडेर यस्तो अवस्थामा आउनुप¥यो ।’
घटनापछि टिपर सङ्घले पनि समन्वय नगरेकोमा उनले आपत्ति जनाए ।
‘घरको खुसीको लागि ऋण पान गरी म विदेश गएको थिएँ, सबै ठिकै चलिरहेको थियो,’ खविराजले भने, ‘तर उक्त दिनको घटनाले हाम्रो घरको सबै खुसी मात्र खोसिएन, मेरी पत्नीले न्याय पनि पाएकी छैन ।’
चाडपर्व भएकोले विभिन्न बहानामा टिपर सङ्घले बहानाबाजी गरिरहेको उनले बताए । ‘हामी यसै पीडित छौँ । त्यसमा पनि प्रहरी प्रशासनबाटसमेत भनेजस्तो सहयोग भएको छैन,’ उनले थपे ।
उक्त घटनामा पाँच लाख रुपैयाँ दिएर मिल्न दबाब दिएको मृतक भीमाका भाइ आशिष बताउँछन् ।
उनले भने, ‘के एक जना मानिसको मूल्य ५ लाख मात्र हो र रु गल्ती दुवैतर्फ भए ठिकै छ । तर, टिपरको लापरबाहीले कसैको ज्यान जान्छ अनि पाँच लाख दिएर हुन्छ भन्नु कहाँको न्याय हो ?’
उक्त घटनाको सिसी टिभी फुटेज हेर्दा पनि शतप्रतिशत टिपर चालकको लापरबाही देखिएको उनले बताए ।
‘त्यो फुटेज सबै निकाल्न प्रहरी प्रशासनलाई अनुरोध गरे पनि प्राविधिक गडबडीको कारण त्यस समयको फुटेज नरहेको बहानाबाजी गरिएको छ,’ उनले भने, ‘दिदीले लगाउनुभएको सुनको गरगहना पनि छैन । त्यो कहाँ गयो ?’
उक्त घटनालाई एउटा दुर्घटना बताएर सबै निकायले ढाकछोप गरिएको विद्यार्थी नेता विनोद मगर बताउँछन् ।
अधिकांश घटनाहरूलाई एउटा दुर्घटना बताएर टिपर सङ्घ, बस सङ्घ लगायतका ठुला सवारी साधनहरूले लापरबाहीपूर्वक सवारी सञ्चालन गरिरहेको बताउँदै यसबारे सम्बन्धित निकायले अनुगमन बढाउनुपर्ने बताए ।
‘पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्छ र चालकलाई सजाय हुनुपर्ने माग छ,’ उनले भने, ‘यो माग भीमाको न्यायको लागि मात्रै होइन, सबै सर्वसाधारणको लागि हो ।’
गत बुधवार परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने र चालकलाई सजाय हुनुपर्ने मागसहित धरानको भानुचोकमा आन्दोलनसमेत गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीले टिपर सङ्घसँग समन्वय गर्न बोलाए पनि टिपर सङ्घबाट आफ्ना मागहरूको अवहेलना गरी पाँच लाख पाउने नियम रहेको बताएपछि अन्याय भएको पीडितको भनाइ छ ।
आफूहरूको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । ‘हामीले आफ्ना माग राखेर अरूलाई दुःख दिन चाहेको होइन ।
आज हाम्रो परिवारमा परेको समस्या भोलि अरू कसैको परिवारलाई नपरोस् भन्ने हो,’ पीडित परिवारको दुखेसो छ ।
Discussion about this post