विराटनगर । कोशी प्रदेशमा ठूला चाडपर्व दसैं र तिहारको अवधिमा ८ सय ६४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले जनाएको छ । कार्यालयका अनुसार दसैं र तिहारमा १ महिनाको अवधिमा ५ सय १३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
ट्राफिक प्रहरीले १ सय १७ वटा टेम्पो, १ सय ५ वटा जीप तथा कार, ५८ वटा साइकललगायतका शारीरिक शक्तिबाट चल्ने सवारीसाधन, ३० वटा बस, १६ वटा ट्याक्टर, १३ वटा ट्रक, ७ वटा टिपर, २ वटा माइक्रो, २ वटा अन्य र १ वटा लोडर तथा स्काभेटर दुर्घटनामा परेको जानकारी दिएको छ ।
१४ वटा जिल्ला रहेको प्रदेशमा सबैभन्दा धेरै मोरङमा ३ सय २१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । झापामा २ सय २८ र सुनसरीमा २ सय ९ वटा तथा सबैभन्दा कम इलाम र ताप्लेजुङमा १/१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
असोज १७ गते दसैंको घटस्थापनादेखि कात्तिक १८ गते तिहारको भाइटीकासम्म प्रदेशमा ५ सय ८२ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परेर ३४ जनाको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर १ बालकसहित २८ पुरुष र २ बालिकासहित ६ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेर सबैभन्दा धेरै झापामा १२ जनाको मृत्यु भयो । मोरङमा ७, सुनसरीमा ६, उदयपुर, संखुवासभा र खोटाङमा २/२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा १/१ जनाको मृत्यु भएको एसपी घिमिरेले बताए ।
तेह्रथुम, इलाम, पाँचथर, भोजपुर र ओखलढुंगामा दुर्घटना भएपनि मानवीय क्षति भएन । चाडपर्वको अवधिमा प्रदेशभरि दुर्घटनामा परेर ८० जना गम्भीर र ९ सय ६१ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा २ वटा चौपायाको मृत्यु भएको छ भने एउटा घाइते भएको छ ।
मोरङमा सबैभन्दा धेरै २ सय ७ वटा दुर्घटना भएका छन् । झापामा १ सय ६०, सुनसरीमा १ सय ३८, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५/५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३/३, इलाम र ताप्लेजुङमा १/१ वटा दुर्घटना भएका हुन् ।
ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर यात्रुको सहयोगका लागि ‘यात्रु सहायता कक्ष’ समेत सञ्चालनमा ल्याएको थियो । एसपी घिमिरेका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको छ ।
चालकलाई प्रशिक्षण दिनेदेखि जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्र पारिएको उनको भनाइ छ । सबैभन्दा धेरै दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन (मापसे), यान्त्रिक गडबढी र चालकको लापरबाहीले भएको ट्राफिकले जनाएको छ ।
घिमिरेका अनुसार मापसे गरेर सवारीसाधन चलाउँदा भित्री सडक खण्डमा धेरै दुर्घटना भएको पाइएको छ । सवारीसाधनको तीव्र गति नियन्त्रण गर्न । नियम उल्लंघन रोक्नका लागि ट्राफिकले मिहिनेत गरिरहेको उनले बताए । नियम उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने गरिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि भाडाका सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गर्ने विषयमा छलफल भइरहेको उनी बताउँछन् । ‘बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गरिरहेको छ,’ एसपी घिमिरेले भने, ‘दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साथ र सहयोग चाहिन्छ ।’
Discussion about this post