धरान : धरान उपमहानगरपालिका ११ की ४३ वर्षीय भीमा राईको दुर्घटनामा निधन भएपछि न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाइएको छ ।
भीमा राई दुर्घटना छानबिन तथा क्षतिपूर्ति सङ्घर्ष समितिले दुर्घटनाको छानबिनको माग गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।
गत कात्तिक ८ गते मोरङको बेलबारी नगरपालिका वडा नं. २ पूर्वपश्चिम राजमार्गको लात्तालात्ती स्थित कुस्ती खोलाको पुलमा सवारी दुर्घटनामा परी को २८ प ६१३२ को स्कुटर सवार भीमाको घटनास्थलमै ज्यान गएको थियो ।
उक्त दुर्घटनामा मे १ ख २७९१ नं को बस चालक ४० वर्षीय नेत्रबहादुर दर्जीले ठक्कर दिएको र तत्काल को १ क ३४१७ नम्बरको टिपर चालक २९ वर्षीय श्यामबहादुर चौधरीले पछाडिबाट थप ठक्कर दिएबाट स्कुटर चालक राईको मृत्यु हुन पुगेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
घटनामा सवारी चलाउने चालकहरूलाई कडा कारबाहीको माग गर्दै पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनु राज्यको कर्तव्य र जिम्मेवारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको हो ।
घटना भएको दिनको ३ बजेर ६ मिनेटदेखि ३ बजे र ५८ मिनेटसम्मको सिसी टिभी फुटेजसमेत गायब गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
घटना कसरी घट्यो भन्ने सत्य, तथ्य थाह पाउन घटना भएको स्थानको कभरेज गर्ने सिसीटिभी फुटेज गायब गरिएको र कसले नष्ट गरेको वा गायब गर्न खोजेको हो सबैभन्दा पहिले अनुसन्धान तथा प्रविधिमार्फत रिकभर गरी उपलब्ध गराउन समेत समितिले माग गरेको छ ।
दुर्घटनामा संलग्न चालकहरूलाई कडा कारबाही गर्न र सो सम्बन्धमा गम्भीर अनुसन्धान गर्दै सवारी दुर्घटनामा ज्यान जाँदा पाँच लाख क्षतिपूर्ति दिएर घटना मिलाउने सवारी ऐन संशोधन गर्नुपर्ने लगायतको माग समेत ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
मृतकको राईको साथमा रहेको झोला र त्यसमा रहेको रकम, ५ तोला भन्दा बढी सुन र अन्य सामानहरू समेत हराएकाले सीसी टिभी फुटेज अध्ययनमार्फत हराएका वस्तुहरू आफूले पाउनुपर्ने मृतक राईको श्रीमान खविराज राईले माग राखेका छन् ।
ज्ञापन पत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराईले आफू यस विषयमा गम्भीर भएको प्रतिक्रिया दिए ।
Discussion about this post