विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको विवादित जापान भ्रमणमा सहभागी भएको भनिएका भ्रमण दलका ‘नक्कली सदस्य’सहित ६ जना पक्राउ परेका छन् ।
मन्त्री अधिकारीकै समन्वयमा तीन जना त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ परेका हुन् । पक्राउ परेका तीन जनाको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिका– २ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका– ४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा मन्त्री अधिकारीको भ्रमण दलको सदस्य बनेर जापान पुगेका थिए । शेर्पा १५ दिनको भिजिट भिसामा जापान गएको पाइएको छ ।
एक्लै जापान जाने भनेर नेपालबाट कात्तिक ११ गते हिँडेका अधिकारीसँग हङकङको ट्रन्जिटमा आफू पनि भ्रमण दलको सदस्य भन्दै परिचय गर्न तीन जना पुगेका थिए ।
सोधीखोजी गर्दा शेर्पासँग ऐँसेलुखर्क गाउँपालिका सदस्यको परिचय भेटिएको थियो । जनक र कञ्चनसँग भने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायक पदको परिचयपत्र थियो । प्रहरीका अनुसार तीन जनासँग भेटिएको परिचय पत्र नक्कली हो ।
विमास्थलबाट पक्राउ परेका तीन जनाको बयानका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार दोलखाको जिरी नगरपालिका–९ घर भएका वीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे छन् ।
पक्राउ परेका सबैमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तीन जनाले नक्कली परिचय पत्र बनाएका थिए । अधिकारी सहभागी हुने कार्यक्रमको भ्रमण दलको सदस्य बनाउने गिरोह भने फरार छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको ।
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो ।
टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले बेहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए । तर, हङकङमा अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान पुर्याउन लागेको थाहा पाएपछि अधिकारी झस्किए ।
प्रहरी स्रोतले भने मन्त्री अधिकारीले जिम्मा लगाएको दाबी गरेका तीन जनालाई जापानले ‘डिपोट’ गरेको जनाएको छ ।
मन्त्रीको जापान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन । भ्रमण स्वीकृत नगरी जापान जाँदा मानिस ओसारपसार गर्ने गिरोहले फसाउन खोजेपछि पदबाट राजीनामा दिएको मन्त्री अधिकारीले बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।
Discussion about this post