विराटनगर : मोरङका दुईवटा तास खालमा छापा हानेर प्रहरीले बुधबार राति २० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर र कटहरीको तास खालमा छापा हानेको हो ।
भिन्दाभिन्दै खालदेखि पक्राउ परेकाको साथबाट १ लाख ८० हजार रूपैयाँभन्दा बढी नगद बरामद भएको छ । ४ बुक तास पनि फेला परेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–६ भट्टी मोडका विशाल देवान राईको घरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको संयुक्त टोलीले राति ११ः३० बजेतिर छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।
तास खेलिरहेका बेला पक्राउ पर्नेमा विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रविकुमार महतो, ४१ वर्षीय रामकुमार सहनी, विराटनगर–११ का ३७ वर्षीय राजेश काफ्ले, ३६ वर्षीय शिवकुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३० वर्षीय सञ्जीव सहनी र खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४ का ३९ वर्षीय भरतकुमार राई छन् ।
डीएसपी जोशीका अनुसार पक्राउ परेकाको साथबाट १ बुक तास र ५४ हजार ७ सय १० रूपैयाँ नगद बरामद भएको छ ।
कटहरी गाउँपालिका–२ का प्रभुकुमार साहको घरमा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालयका डीएसपी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओली नेतृत्वकै संयुक्त टोलीले राति १२ बजेतिर तासको खालमा छापा हानेको हो ।
प्रहरीले तास खेलिरहेका घरधनी ५८ वर्षीय प्रभुकुमार साहसहित कटहरी–२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहोरा, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार र कटहरी–१ का ४६ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको छ ।
डीएसपी जोशीका अनुसार पक्राउ परेकाको साथबाट १ लाख १९ हजार ५ सय नेपाली र ४ हजार ६ सय भारतीय रूपैयाँ तथा ३ बुक तास बरामद भएको छ । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
Discussion about this post