इटहरी : ‘म जाँदै गर्दा कोही हाँस्ने हुनुहुन्छ भने उहाँहरूलाई कोटी–कोटी प्रणाम । र, रुनेको लागि मात्र प्रणाम । किनकि, कतै जान लागेको व्यक्तिलाई हाँसेर बिदाइ ग¥यो भने ऊ जान्छ । तर, रुन थाल्यो भने ऊ जाऔँ कि नजाऔँ हुन्छ । त्यसैकारण जोसुकै पनि यात्रा गर्न लागेको बेला रुन हुँदैन ।’
माथिको वाक्यांश लेख्दै मोरङको सुन्दरहरैँचाका चेतनाथ अधिकारी घरबाट बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनले लेखेको चिर्कटो भेटिएको छ । घरबाटै अचानक बेपत्ता भएपछि अधिकारीको खोजी कार्यमा परिवारजन जुटिरहेका छन् ।
५३ वर्षीय अधिकारी बुधबार बिहानदेखि बेपत्ता भएको परिवारजनले जनाएका छन् । उनी बेपत्ता भएपछि खोजी कार्यका लागि परिवारले प्रहरीमा निवेदन दिएका छन् । बेपत्ता हुनुअघि अधिकारीले परिवारमा रहेका आफन्तहरूलाई सामानसमेत छुट्याएर राखिदिएको चिर्कटोसमेत फेला परेको छ ।
जिल्ला अदालत धनकुटाका पूर्व कर्मचारीसमेत रहेका उनी राष्ट्रिय परिचय पत्र बनाउनका लागि भनेर घरबाट हिँडेको बताएका थिए ।
श्रीमती कल्पना अधिकारीका अनुसार मोरङको गछिया घर भएका उनले राष्ट्रिय परिचयपत्र बनाउनका लागि धनकुटा हिँडेको र धरानमा परिवारका अन्य व्यक्तिसँग भेट गर्ने भनेका थिए । तर, उनले भेट नगरेको पारिवारिक स्रोतले जनाएको छ । ‘घरपरिवारमा राम्रै थियो ।
कसैसँग केही थिएन,’ कल्पनाले भनिन्, ‘तर अचानक यस्तो लेखेका पत्र भेट्यौँ र उहाँ बेपत्ता भएको थाहा भयो । खोजी गर्नका निम्ति सबैतिर अनुरोध गरेका छौँ ।’
उनका अनुसार खोजीका लागि प्रहरीसहित सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।
‘म जाने मान्छेलाई नखोज्नुहोला,’ अधिकारीले लेखेको चिर्कटोमा भनिएको छ । पुरोहितको काम गर्दै आएका अधिकारी बेपत्ता भएपछि खोजी कार्यमा जुटेको स्थानीयबासीको भनाइ छ ।
तीन छोराका पिता र एक श्रीमतीका पति रहेका उनी बेपत्ता भएपछि स्थानीयबासी चिन्तित बनेका छन् । उनको खोजी कार्यका लागि नेपाल प्रहरीले पनि अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घरपरिवारमा सम्बन्ध राम्रै भएपनि उनी कहाँ र किन गए भन्नेबारे खुलेको छैन । यसबारे खोजी कार्यसँगै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘घरपरिवारले दिएको सूचनाअनुसार बिहानको ५ः३० बजे घरमा कोही नभएको बेलामा ढोका लगाएर हिँड्नुभएछ,’ खोजी कार्यमा खटिएका एक प्रहरीले भने, ‘मोबाइल पनि फ्लाइट मोडमा राखेर घरमै छोड्नुभएछ, कहाँ जानुभयो भन्ने खुलेको छैन ।’
खासगरी अधिकारी परिवार काठमाडौँको पशुपति क्षेत्रमा बसोबास गर्दै आएको थियो । धनकुटा पुख्र्यौली घर रहेको उक्त परिवारको सुन्दरहरैँचामा पनि घर रहेको र तिहार मनाउन स–परिवार आएको खुलेको छ ।
‘तिहार मनाउन आएको बेला श्रीमती र छोराछोरीलाई भने मंगलबार नै धरानस्थित ससुराली घर पठाएर आफू बुधबार आउने बताउनुभएको रहेछ,’ ती प्रहरीले परिवारको भनाइ उदृत गर्दै भने, ‘धरानस्थित ससुरालीमा बुधबार बिहान भेट हुने भनिएपनि १० बजेसम्म नआएको र फोन पनि स्वीच अफ भएकाले परिवारले खोजी कार्य बढाएको रहेछ ।’
उनका अनुुसार परिवारलाई मंगलबार नै ससुराली पठाइएको र आफू भने बुधबार आउने बताएका ‘धनकुटा गएर राष्ट्रिय परिचय पत्र बनाउने र ससुरालमा आएर सासूलाई बोलाएर काठमाडौँ जाने सल्लाह रहेछ,’ ती प्रहरीले भने, ‘अस्तिको दिन उहाँ एक्लै हुनुहुँदोरहेछ । परिवारसँग त्यस्तो केही विवाद भने नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अघिल्लोपटक अधिकारी घर आउँदा छरछिमेकसँग खुलेर कुरा गर्थे । तर, यसपटक भने उनी ‘मुड अफ’ भएजसरी कोहीसँग पनि खुलेर कुरा नगरेकोसमेत खुलेको छ ।
बेपत्ता भएका अधिकारीको खोजी गर्न प्रहरीले सर्वसाधारण नागरिकसँग पनि आग्रह गरेको छ ।
Discussion about this post