इटहरी : सुनसरीको झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदीलाई १२ बर्षपछी पक्राउ गरीएको छ । २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर भागेका चन्द्रशेखर भनिने विनायक यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीवार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिकाको नेपाल भारत सिमानाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
हतिहारसहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
२०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्या गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन्।
उनीसहित अन्य ११ जनाले झुम्का कारागारको दक्षिणपट्टिको पर्खालको भित्री भागबाट सुरुङ खनेर फरार भएका थिए । उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको थिएन ।
पक्राउ परेका विनायकको साथबाट सिक्सर रिभोल्भर पेस्तोल एकथान र १२ थान गोली बरामद गरिएको डिएसपी तिमल्सिनाले बताएका छन् । उनले पक्राउ परेका विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाइ पुन कारागार चलान गरिने बताए ।
Discussion about this post