विराटनगर । श्रीमती परपुरुषसँग लागेको शंका गर्दै २५ हजार रुपैयाँ दिएर हत्या गर्ने श्रीमानसहित तीनजना पुर्पक्षको लागि जेल चलान भएका छन् ।
विराटनगर – १९ मिलन चौक टोलमा बस्ने २७ बर्सिया प्रियंका सोनारको हत्या आरोपमा पक्राउ परेका श्रीमान् रमेशकुमार सुनारसहित तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न मोरङ आदेश दिएको हो ।
हत्या आरोपमा पक्राउ परेका विराटनगर १९ मिलन चौक टोलमा बस्ने वर्ष ३४ का रमेश साह भन्ने रमेश कुमार सुनार, कटहरी गाउँपालिका ५ पैनी टोल बस्ने वर्ष ६२ का रामानन्द राम हरिजन र सोही ठाउँका ३५ वर्षका उमेश सरदारलाई पनि पुर्पक्षको लागि थुनामा राख्न मोरङ अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजालशले आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
गत फागुन ७ गते दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा प्रियकाको हत्या गरेको अवस्थामा बोराभित्र शव फेला परेको थियो । शव भेटिएपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा चार जनलाई पक्राउ गरेको थियो ।
जसमध्ये विराटनगर ७ हस्पिटल चौकमा बस्ने वर्ष ५३ का श्रीराम भन्ने सिलीराम चौधरीलाई जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।
प्रहरीको अनुसन्धान पश्चात प्रतिवादीहरू मध्ये श्रीराम भन्ने सिलीराम चौधरीको घटनामा संलग्न नदेखिएपछि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
Discussion about this post