काठमाडौं– गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रालयका कर्मचारीमाथि अनुसन्धान सुरु भएको पुष्टि गर्दै, आफूले राजीनामा दिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
शनिबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रालयजस्तो ठूलो संस्थामा हजारौँ कर्मचारी रहेको र संवैधानिक निकायहरूलाई उनीहरूमाथि कुनै पनि बेला अनुसन्धान गर्ने अधिकार रहेको उल्लेख गरे।
यस्तो अवस्थामा कुनै कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा मन्त्रीले पनि राजीनामा दिनुपर्ने हो भने त्यो व्यवहारिक नहुने उनको तर्क छ।
गृहमन्त्री लेखक र उनका सचिवालयमाथि ‘भिजिट भिसा’लाई माध्यम बनाई मानव तस्करीमा संलग्न भएको आरोप लागिरहेको छ। तर मन्त्री लेखकले ती आरोपलाई नियोजित र षडयन्त्रपूर्ण प्रचारबाजीको संज्ञा दिँदै खण्डन गरेका छन्।
उनले भने, “नियोजित र सडयन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ।”
आफूविरुद्ध कुनै आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने प्रतिबद्धता समेत उनले दोहोर्याए। “मेरो सार्वजनिक, राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता प्रमाणित गर्छ भने, म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,” लेखकले भने।
यसैबीच, उनले भिजिट भिसा प्रकरणबारे जेठ १३ गते प्रतिनिधिसभामा जवाफ दिने बताएका छन्।
प्रतिक्रिया