धनकुटाको मुलघाटमा गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी घाइते, ५ सय किलो बरामद

शुक्रबार, २९ बैशाख २०८०
विराटनगर ।  धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटमा लागूऔषध गाँजा नियन्त्रणमा लिने क्रममा शुक्रबार बिहान एकजना प्रहरी घाइते भएका छन् । गाँजा लिएर आउँदै गरेको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर प्रहरी चौकी मुलघाटले चेकजाँच गरेको थियो । प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ माथि चढेर मिनी ट्रकको खानतलासी गर्दै थिए । तामाङले चेकजाँच गरिरहेका बेला चालकले गाडी भगाउन खोजे । त्यस क्रममा ट्रकबाट लडेर सहायक हवल्दार घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार घाइते तामाङको धनकुटामै उपचार भइरहेको छ । उनको देब्रे खुट्टमा चोट लागेको छ । प्रहरीले सोही ट्रकमा लोड गरेर धरानतर्फ ल्याउँदै गरेको अन्दाजी ५ सय किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ट्रक भित्रबाट ठूलो परिणामको गाँजा बरामद भएको एसपी कोइरालाले जानकारी दिए । १७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५ः३० बजेतिर बरामद गरिएको उनले बताए । उनका अनुसार गाँजासहितको ट्रक भने मुलघाटकै सिरसिरेभन्ने ठाउँमा छाडेर चालक फरार बनेका छन् । फरार रहेका चालकको खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिए । बरामद भएको गाँजासहित ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार