इटहरी
घटना १ः स्थानीय विकास तथा पूर्वाधार आयोजना इटहरीका कार्यालय प्रमुख दशैं छुट्टीमा घर गएपछि उनी बस्ने सरकारी आवासमा कोही भएनन् । दशैंमा घर गएपछि बन्द आवास इटहरी क्षेत्रकै बालबालिकाले थाहा पाए र चाबी फोरेरै भित्र मात्र पसेनन् त्यहाँ केही रात बिताए । क्वाटरभित्रै ‘सेल्टर’ बनाएका बालबालिकाले त्यहाँबाट निस्किँदा कार्यालय प्रमुखले प्रयोग गर्ने ल्यापटप नगदसहितका सरसामान चोरी गरे । उनीहरू अहिले इटहरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घटना २ः इटहरी निवासी एक प्रहरी सहायक निरीक्षक दशैका समयमा काठमाडौं गए । दशैंमा काठमाडौं गएका उनको त्यसै राति घरमा चोरी भएको खबर सुन्नासाथ पर्व खल्लो मात्रै भएन, अहिले आफैँ चोर पत्ता लगाउन प्रहरी कार्यालय धाउन बाध्य हुनु परेको छ । इटहरी प्रहरीले उनको घरमा चोरी गर्नेको खोजी गरिरहेको छ ।
घटना ३ः इटहरी प्रहरीले विजयादशमीको टीकाकै दिन विभिन्न समयमा चोरी गर्ने ९ जनालाई पक्राउ गरेर सार्वजनिक नै गर्यो । घरायसी सामानदेखि साइकल, मोबाइलसम्म चोरी गरेको आरोपमा पक्राउ परेकाहरूको सम्बन्धमा अनुसन्धान भइरहेको इटहरी प्रहरीले जानकारी दिएको छ ।
यी घटना प्रतिनिधि मात्र हुन् । प्रहरीले इटहरीमा भएका चोरीका घटना मध्ये दशैंको अवधिमा मात्रै १५ जनालाई पक्राउ गरिसकेको छ । चोरीमा संलग्न अन्य घटनाका आरोपीहरूलाई प्रहरीले उजुरीको आधारमा खोजी कार्य गरिरहेको छ ।
दशैंको अवधिमा पक्राउ पर्नेहरूमा सुनसरी इटहरीका राजेश सिंह, आकाश भुजेल, जब्दी सरदार, दुहवीका मोहम्मद मुन्ना मिया, मोहम्मद आजम, इनरुवाका मोहम्मद जाकीर अन्सारी, मोरङ पथरीशनिश्चरेका समीर चौधरी, बेलबारीका सुरेश तामाङ, झापा चन्द्रगढीका विक्रम क्षेत्री, इलामका अमर मगर र अन्य एक बालिकासहित पाँच बालबालिका रहेका छन् ।
चाडपर्वका बेलामा चोरी डकैतीलगायत आपराधिक गतिविधि रोक्न प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ । जसअनुसार इटहरीमा चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि रोक्न आवश्यक प्रहरी परिचालन गरेको थियो । प्रहरीको सक्रियताकै कारण इटहरीमा दशैका समयमा ठुला प्रकृतिका घटनाहरु हुन पाएनन । तर चोरीका घटना भने दिन प्रतिदिन बढदै गएको देखिन्छ ।
इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीले प्रदेश खबरसँग भने ,‘हामीले चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागू गरेका थियौं । आवश्यकता अनुसार प्रहरी परिचालन गरेर विशेष निगरानी बढायौं । घटना नहुन् भन्ने हाम्रो चाहाना हो । केहि घटनाका सन्दर्भमा हामीले अनुसन्धान र कानुनी कारबाही अघि बढाएका छौं ।’
‘सेल्टर’ बनाएरै चोरीमा बालबालिकाको संलग्नता’
कार्यालय प्रमुखको सरकारी आवासमा भएको अपत्यारिलो शैलीको चोरीमा संलग्न बालबालिकाहरूले ‘सेल्टर’ बनाएरै चोरी गरेको खुलासा भएको हो । प्रहरी परिचालन गरेर विभिन्न ठाउँबाट पक्राउ गर्दा घटनामा संलग्न बालबालिकाहरू इटहरीस्थित रङ्गशालाको छेउ तथा चोरी भएको सरकारी आवासमै ‘सेल्टर’ बनाएर बसेको पाइएको हो । यस घटनामा संलग्न पक्राउ परेका सातै जना बालबालिका छन ।
८ बर्ष देखि १७ बर्ष सम्मका बालबालिकाहरु यस घटनामा संलग्न भएको प्रहरीले बताएको छ । ‘इटहरीमा चोरी गरेका सामानहरू विराटनगर रानीसम्म लगेर बेचेको पाइयो,’ प्रहरीका अधिकारी भन्छन्, ‘हामीले विभिन्न ठाउँबाट चोरी गरेका सरसामानहरू समेत सङ्कलन गरेका छौँ ।’
बालबालिका बेवारिसे अवस्थामा हुने, निश्चित ठाउँलाई लक्षित गरेर ‘सेल्टर’ नै बनाएर बस्ने, कुलतमा लाग्ने, मेला महोत्सवमा जाने र लुटपाट गर्ने, राति भएपछि घरमा जाने, ताल्चा फुटाएर चोरी गर्ने तथा यौनजन्य गतिविधिसमेत गर्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूले बनाएको चोरी ‘सेल्टर’मा यौनजन्य गतिविधिमा प्रयोग हुने साधनहरू समेत यत्रतत्र भेटिएको छ ।
सुरक्षामा चुनौती
यसरी चोरीका घटना बढिरहँदा इटहरीको सुरक्षामा चुनौती थपिएको छ । चोरीमा बालबालिकाको संलग्नताले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।
बालबालिकाहरू पढाई छोडेर आपराधिक गतिविधिमा संलग्न हुनुले आगामी दिनमा हुने जोखिमलाई देखाइरहेको छ । अर्कोतर्फ कुनै अदृश्य समूहले बालबालिकाको प्रयोग गरेको हुनसक्ने अनुमान पनि छ । प्रहरीले गहिरो अनुसन्धान र कारबाहीलाई जारी राखेको भएपनि अपराधिक गतिविधिमा बालबालिकाको संलग्नताले सुरक्षा संवेदनशीलताका सवालमा समस्या देखिएको छ ।
डीएसपी कार्की भन्छन्, ‘बालबालिकाको संलग्नता सन्दर्भमा प्रहरीको समेत टाउको दुखाइको विषय बनिरहेको छ । केही समयअगाडि पक्राउ गरेपनि सम्मानित अदालतबाट छुटेपछि फेरि तिनीहरू त्यही कार्यमा संलग्न हुने गरेका छन् । बेवारिसे बालबालिका चोरीलगायतका अपराधमा संलग्न हुनुले सुरक्षामा चुनौती थपिएको छ ।’
कुनैपनि अपराधमा बालबालिका संलग्न हुँदा अनुसन्धानमा समेत प्रहरीलाई समस्या हुने गरेको छ । बालबालिकालाई प्रहरी हिरासतमा अरुसँगै राखेर अनुसन्धान गर्न मिल्दैन । छुट्टै र संवेदनशील हिसाबले अनुसन्धान गर्नुपर्ने हुँदा अपराधमा बालबालिकाको संलग्नताले विभिन्न चुनौती खडा गरिरहेको प्रहरी अधिकारी बताउँछन् ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया