भारतले नेपाललाई हिन्दु राष्ट्र भएको देख्न चाहन्छ : कालीदास बाबा

आइतबार, ०३ चैत्र २०८१
काठमाडौँ । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दु राष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सधैँ हिन्दु राष्ट्रका पक्षमा रहेको पनि औँल्याए । ‘एक अभिभावकका रूपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरूले पनि बाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरूले म सँगको कुराकानीमा बाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुङ्गा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौँ । त्यसैले राजसंस्थाको अलग्गै महत्त्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दु राष्ट्र परिपूरक पनि हुन् ।’ हालै काठमाडौँमा भएको राजावादीहरूको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर सार्वजनिक भएको विषयमा बोल्दै उनले भने,‘गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ बडामहाराजाधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’ राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरूले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति पनि जनाए । उनले देश नै उत्तेजित भएको अवस्थामा उच्च पदको जिम्मेवारीमा बसेको नेताहरूले अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताए । उनले भने,‘देशमा ठुलो जिम्मेवारी र पदमा बसेकाहरूले अपशब्द गाली पनि गरिएका छन् । यसरी आज देश नै उत्तेजित भएको अवस्थामा जलेको आगोलाई पानी हालेर निभाउनुपर्नेमा आगोमा पेट्रोल हालेको अवस्था छ ।’ विदेशमा गएर पसिना बगाएका युवाहरूले पठाएको रेमिटेन्सबाट नेताहरूले आफ्नो स्वार्थ सिद्धि गरेको उनले आरोप लगाए । उनले जलस्रोत,खनिज पदार्थ, जडीबुटीको धनी र स्वाभिमान नेपालीहरूका नेपाल आज धरधरी रोइराखेको बताए । उनले भने,‘हाम्रा युवायुवती विदेशमा गएर कष्ट गरेर एकाएक पैसा कमाएर शरीरको रगत, पानी, पसिना बनाएर ल्याएको पैसा ट्याक्सका रूपमा लिएर नेताहरूले आफ्नो स्वार्थ सिद्धि गरेका छन् । अब आउने भविष्य निकटमा जलश्रोत,खनिज पदार्थ, जडीबुटीको धनी र स्वाभिमानी नेपालीहरू धर्तीमा आज धरधरी रोइराखेका छन् ।’ त्यस्तै उनले विगत केही समयदेखि नेपालमा हर तरहका सङ्कटहरू आइराखेको बताए । मुलुक रहने हो या डुब्ने हो भन्ने अवस्थामा आज नेपाल पुगेको उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार