पाँचथर : इलामको फाकफोकथुम गाउँपालिका–३, आमचोकका २० वर्षीय उमेश गिरी चैत १ गते निवेदन लिएर प्रहरी चौकी आमचोक पुगे ।
उनले लेखेको निवेदनमा १९ वर्षीय पत्नी बिमला कट्टेल हराएकाले खोजी गरी पाउँ भनेर लेखिएको थियो ।
गर्भवती अवस्थामा श्रीमती हराएको निवेदन लिएर आएका उमेश सँग सामान्य सोधपुछ गरेर प्रहरीले बिमलाको खोजी सुरु ग¥र्यो ।
खोजीका लागि प्रहरीले विशेष टोली बनायो । खोजतलास गर्दै जाँदा चैत १५ गते बिहान १ बजे प्रहरीले घरदेखि डेढ घण्टाको पैदल दूरीमा शव भेट्टायो ।
बिमलाको शव दाहाल गोलाई(धार्नेखोप) स्थित कच्ची सडकको माझमा करिब ५ फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्थामा गाडिएको रहेछ ।
‘गर्भवती अवस्थाकी विमलालाई गाड्ने अरू कोही नभएर उनकै पत्नी उमेश गिरी रहेछन् ।’ जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख(एसपी) एकनारायण कोइरालाले भने ।
एक्स्काभेटर चालक उमेशले पत्नी बिमलालाई घुम्न जाऔँ भनेर धार्नेखोप पुगेपछि मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर मारेपछि एक्स्काभेटले नै खाल्डो खनेर गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी जनाउँछ ।
बिमला हराएकाले खोजी गरिपाऊँ भन्ने निवेदन लिएर आएका उमेशलाई प्रहरीले चैत १२ गते नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । ‘सोधपुछका क्रममा आफ्नी आफैँले मारेर बिच सडकमा गाडेको बताएपछि उनलाई सँगै लगेर खोतल्दा शव भेटियो ।’ एसपी कोइरालाले भने ।
बिमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको जनाएको छ ।
‘अहिलेसम्मको अनुसन्धानमा पर स्त्रीसँगको सम्बन्धमा रहेको कारण पत्नी हत्या गरेको हुनसक्ने देखिएको छ । श्रीमान् श्रीमती बिच भनाभन भइरहने गरेको खुलेकोले हत्या गर्ने पूर्व योजना थियो थिएन भन्ने पछिल्लो अनुसन्धानबाट थाहा हुन्छ ।’ कोइराला भन्छन् ।
हत्या उमेश एक्लैले गरे वा कसैको सहायता लिए भन्ने पनि खुलेको छैन । बिमलाको शव पोस्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । हत्या आरोपित उमेशलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
प्रतिक्रिया