रौतहट । रौतहटमा एक जना १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।
जिल्लाको मध्य भाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको शव हत्यागरी फालिएको अवस्थामा फेला परेको हो।
पछिल्लो ५ दिन देखि हराई रहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा बर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्की सहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको छ।
बरामद शवको प्रकृती हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले जानकारी दिएका छन्। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीले बताएका छन्।
शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ।
गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाइकल चढेर निस्कीएका थिए ।
त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछी गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो।
घटना सम्बन्धी थप अनुसन्धान भईरहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हाल सम्म फेला नपरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
प्रतिक्रिया