कञ्चनपुर- कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्।
बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्। यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन्। साँझबिहान राजमार्गमा निकै भीडभाड हुने गरेको छ। यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो।
६ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताए। तरबुजालगायत फल बिक्री गरेर दैनिक दुई हजारदेखि तीन हजार ५०० सम्म आम्दानी हुने गरेको उनले बताए।
वैशाखदेखि असारसम्म तीन लाखदेखि पाँच लाखसम्मको कारोबार हुने गरेको उनले जानकारी दिए। ‘बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्’,उनले भने, ‘थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ।’
१५ वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरी सकेपछि पुनः स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताइन्।
‘कमैयामुक्तिको घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनः स्थापना गरिँदा घर निर्माण र खेतीका लागि दश कट्ठा जग्गा उपलब्ध गराइएको थियो’,उनले भनिन्, ‘जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ।’
‘अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थाल्यौँ, तरबुजा फलेका छन्। यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ’,उनले भनिा्। घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछिन्।
राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन्। ‘बिहान विद्यालय जान्छु’,उनले भनिन्, ‘त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु।’
टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको उनले बताइन्।
प्रतिक्रिया