भारत–पाकिस्तान तनावले नेपाल भित्रिने र बाहिरिने विमानको समय लम्बियो

शुक्रबार, २६ बैशाख २०८२

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावको प्रभाव नेपालमा समेत देखा पर्न थालेको छ । गत बुधबार (वैशाख २४ गते) बिहान भारतले हवाई आक्रमणपछि दुई देशबीच भएको तनावका कारण नेपाल आउने र जाने उडान प्रभावित हुन थालेका छन् ।

दुई देशबीचको तनावका कारण नेपाल आउने र यहाँबाट विदेशिने जहाजमा अतिरिक्त समय र भार थपिएका छन् । यसले उडान तालिका प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विशेष गरी, मध्यपूर्व र युरोपको जहाज एक घण्टा ढिलो भइरहेको कार्यालयले जनाएको छ ।

मध्यपूर्व र युरोपबाट आउने जहाज एक घण्टा डिले भइरहेको छ भने भाडादरमा कुनै परिवर्तन नदेखिएको कार्यालयले जनाएको छ । अहिले पाकिस्तान हुँदै आउने जहाजले त्यहाँको आकाश प्रयोग गरेका छैनन् । यसले गर्दा एक घण्टा ढिला भएको हो ।

विमानस्थल कार्यालयका अनुसार युरोप तथा मध्यपूर्वबाट नेपाल आउने र जान गरी करिब १५ जहाजको उडान समय लम्बिएको छ । मध्यपूर्वबाट कतार एयरवेज, फ्लाई दुबई, जजिरा र कुवेत एयरवेज एयर अरेबियालगायत विमानले नेपाल उडान गरिरहेका छन् ।

तनावअघि इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुटमार्फत उडान गर्न छोटो रुट हुन्थ्यो । पाकिस्तान र भारतबीचको तनावपछि हाल कतारबाट दुबई, ओमन हुँदै अरबियन सागर, मुम्बई हुँदै नेपाल भित्रिने र बाहिरिने गर्न थालेका छन् । नेपालबाट बाहिरिन सिमरा हुँदै भारतको लखनऊ, मुम्बई हुँदै अरेबियन सागरतर्फ मोडिने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार