काठमाडौं । भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले ४०० किलोमिटर हान्न सक्ने आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ।
पाकिस्तानको उन्नत फतेहका दुई संस्करण रहेको अलजजिराको रिपोर्टले जनाएको छ। जसलाई फतेह–१ र फतेह–२ भनिन्छ । सैन्य विज्ञहरूका अनुसार, फतेह–१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर (८७ माइल) टाढासम्म प्रहार गर्न सक्षम छ।
रिपोर्टहरूअनुसार, फतेह–२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर (२४८ माइल) सम्म छ । दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ। अरबी भाषामा फतेह शब्दको अर्थ ‘लगभग विजेता’ वा ‘विजेता’ हो । यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सीमानामा ड्रोन आक्रमण गरेको बताएको छ ।
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान–अन–मार्सुस’ थालिएको बताएको छ। यसैबीच जी–७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया