कर्णालीको बजेट अधिवेशन सुरु : मुख्यमन्त्रीको आह्वान र प्रतिपक्षको आलोचना

आइतबार, २८ बैशाख २०८२

सुर्खेत : कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको चालसि दिनपछि बजेट अधिवेशन सुरु भएको हो । गत चैत्र १८ गते कर्णाली प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।  

आइतबार देखि सुरु भएको छैटौं अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रदेशसभामा सत्तापक्षले सरकारको बचाउ गर्ने र प्रतिपक्षले आचोचना गर्ने कार्यले भने निरन्तरता पायो । सभामुखले दलीय आधारमा बोल्न सांसदहरुलाई समय दिए पछि काँग्रेस र एमालेले सरकारको बचाउ गरे भने सरकारको प्रमूख विपक्षी नेकपा माओवादी केन्द्रले सरकारको आलोचना गरेको छ । 

समृद्धिका लागि सहकार्य जरुरीः मुख्यमन्त्री कँडेल 
कर्णाली प्रदेश सभाको बजेट अधिवेशनमा भाग लिँदै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समृद्धिका लागि सबै दलहरुबीचको सहकार्य र सहअस्तित्व जरुरी भएको बताए । कर्णाली प्रदेश आन्दोलनबाट प्राप्त भएको प्रदेश भएकोले यसको बिकास र समद्धिका लागि पनि सत्ता पक्ष र प्रतिपक्ष संगै अगाडि बढ्नु विकल्प नभएको उनले भनाई छ । ‘हामी सबै राजनितिक दल एक ठाउँमा भएर मात्र हामीले कर्णाली प्रदेश प्राप्त गरेका हौ’ उनले भने, ‘अब कर्णालीको बिकासका लागि पनि सबै दल एक ठाउँमा हुनुको विकल्प छैन ।’ 

कर्णालीको अविकास नै साझा प्रतिपक्ष भएको भन्दै कर्णालीको समृद्धिका लागि एकजुट हुनु पर्ने आवश्यकता उनले औल्याए । आगामी बजेटलाई व्यवस्थित गर्न सरकारले योजना बैंकको अवधारणाबाट अघि बढ्न खोजेको भन्दै सहयोग गर्न विपक्षी दललाई समेत आग्रह गरे । आयोजना छनौट कार्यविधि अनुसार नै योजनाको बाँडफाँड हुने भएकाले थिति बसाल्ने कार्यमा लाग्न उनले आग्रह गरे । 

मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठ्न थालेपछी चालू आर्थिक वर्षबाट आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता वा झस्केलाबाट जान्छन् भन्ने विषयलाई  समाप्त गर्ने अभियानमा सरकार लागिरहेको बताए । ‘बजेट पारित गर्ने निकाय प्रदेश सभा हो । प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ,’ उनले भने, ‘सरकारले तजविजीका आधारमा बजेट बाँड्ने काम गर्दैन । प्रदेशसभाबाट पारित कार्यक्रममात्र कार्यान्वयन गर्छ । ’

आयोजना छनौट गर्दा कर्णालीको रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै मुख्यमन्त्री कँडेलले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रुपमा विशिष्टीकृत गरिने बताए । 

सरकारको रवैया असह्यै छः विपक्षी दल  
कर्णाली प्रदेश सभामा विपक्षी दलका नेता राजकुमार शर्माले सरकारको रवैया प्रतिपक्षका लागि स्वीकार्य नभएको बताए । आइतबारदेखि सुरु भएको बजेट अधिवेशनमा बोल्दै विपक्षी दलका नेता राजकुमार शर्माले सरकार मनपरी रुपमा अगाडि बढेको आरोप लगाए । उनले सरकारले आफ्नो रवैया नसच्याए ज्ञानी भएर प्रतिपक्ष बस्न नसक्ने चेतावनी दिए । 

प्रदेश खेलकुद विकास परिषद् खाली भएको लामो समय बितिसक्दा पनि पूर्णता दिन नसकेको,  बार्षिक १० हजार नागरिकलाई रोजगारी दिने कार्यक्रम हटाएको, बजेट कार्यान्वयनको गति बढाउन नसकेको, योजना छनौटको नाममा सांसदहरुलाई वाइपास गरेको तथा बिकासका योजनाहरु सुर्खेत केन्द्रित गरेको भन्दै मुख्यमन्त्रीको आलोचना गरे । 

सरकारले आशा गरे अनुसार काम गर्न नसकेको शर्माको टिप्पणी छ । ‘तपाईंहरुका कुरा सुन्दा वैशाख, जेठमै सबै काम सम्पन्न गरिसक्ने थियो, तर यो पटक पनि असारे प्रवृत्ति कायमै रहने भयो’ उनले भने । 

प्रदेश सभामा नेपाली काँग्रेसका प्रमूख सचेतक हिक्मतबहादुर बिष्टले सरकारले योजना बैंकमार्फत आगामी बर्षका योजनामा बजेट विनियोजन गर्ने नितीले मागमा आधारित योजनाहरु प्राथमिकतामा पर्ने दावी गरे । अधिवेशनलाई उपलब्धीमुलक बनाउन सकै दलहरुको सहकार्यको आवश्यकता बिष्टले पनि औल्याए । 

राप्रपाका सांसद सन्तोषि शाहीले संख्या दम्भ देखाएर सरकारले अरु दलका कुरा नसुनेको आरोप लगाईन् । नेकपा एकीकृत समाजबादीका सांसद कल्याणी खड्काले हिउँदै अधिवेशनले कानून निर्माणमा देखाएको सफलता झै बजेट अधिवेशन पनि सफल बनाउन आग्रह गरिन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार