जनकपुर: धनुषाको मिथिला विहारी नगरपालिका-८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले खाजामा बाँडिएको बुनिया, रसबरी लगायतका परिकार खाएपछि पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएको बताएको छ।
प्रहरीका अनुसार आइतबार राति जनकपुर उपमहानगरपालिका-२३, बिन्धीबाट जन्ती ठेरा कचुरी पुगेका थिए । विवाहको स्वयंवर कार्यक्रम सकिए लगत्तै खाजा वितरण गरिएको थियो । खाजा खाएपछि केही बेरमै धेरै जनामा स्वास्थ्य समस्या देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।
अहिलेसम्म ४५ जना प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् । अन्य बिरामी विभिन्न क्लिनिक तथा निजी अस्पतालमा उपचाररत छन् । केही बिरामी भने सामान्य उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट खाजाको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको र परीक्षणपछि खाजा कसरी बिषाक्त भएको भन्ने विषयमा निष्कर्ष आउने बताइएको छ ।
प्रतिक्रिया