धनकुटा : धनकुटाको भेडेटारबाट प्रहरीले ५१ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रणको अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा लागुऔषध गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार, तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडीलाई भेडेटार चोकमा रोकी चेकजाँच गर्दा, गाडीको छतमा राखिएको एकवटा जेब्रा झोला र दुईवटा बोराभित्र लुकाइएको अवस्थामा ५१ किलो गाँजा भेटिएको हो।
घटनास्थल धनकुटा जिल्लाको साँगुरी गढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा प्रहरी टोलीले आज (बिहीबार) बिहान करिब ९ बजे सो गाडी जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो।
गाँजासहित पक्राउ परेकी महिला धनकुटा जिल्ला, शहीद भूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राई रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राईमाथि लागुऔषध सम्बन्धी कसुरमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
साथै, उक्त गाडीका चालक तेह्रथुम जिल्ला, म्याङ्लुङ नगरपालिका–७ का ३७ वर्षीय प्रकाश गुरुङलाई पनि नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।
प्रहरीले बरामद गरिएको गाँजाको स्रोत, सम्भावित गन्तव्य र यस घटनासँग संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया