विराटनगर : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकमा लोडसेडिङ नभएको र धेरै हल्ला चलाइएको बताएका छन् ।
लोडसेडिङ नभएको र हल्ला मात्रै चलाइएको उनको स्पष्टोक्ति छ । उनले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको दाबी गरे ।
विराटनगरमा बिहीबार आयोजित बढी विद्युत् उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको बताए ।
विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने शाक्यको भनाइ छ । उनले मुलुकमा अहिले विद्युत् अभावको समस्या नरहेको भन्दै ‘ट्रिपिङ’को समस्यालाई चाँडै नै समाधान गरिने बताए ।
शाक्यले विद्युत् आपूर्तिको स्थितिमा बर्सेनि सुधार भइरहेको दाबीसमेत गरे । विश्वसनीय विद्युत् आपूर्तिमा प्राधिकरणले ध्यान दिइरहेको शाक्यको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्र र उद्योगीहरूले सबैभन्दा बढी विद्युत् उपभोग गरेर विद्युत् प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पुर्याएकाले सम्मान गर्ने नीति लिएको उल्लेख गरेको छ ।
यसैबिच, मोरङ उद्योग व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले शाक्यसहित प्राधिकरणका उप–निर्देशक दीर्घायु श्रेष्ठ, प्राधिकरणका कोशी प्रदेश प्रमुख राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख सरोज कुमार साहलाई सङ्घमा स्वागत गरेका छन् ।
सङ्घका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडालगायतले संयुक्त रूपमा स्वागत गरेका हुन् । उद्योगी व्यवसायीले प्राधिकरणको टोलीलाई मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्यूत समस्याहरू बारे अवगतसमेत गराएका छन् ।
कार्यक्रममा सङ्घका सचिव अमित सारडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सङ्घका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, प्राधिकरण विराटनगरका अधिकृतहरू, सङ्घ तथा परिसंघका पदाधिकारी, कार्यसमिति सदस्य, सङ्घका युवा र महिला उद्यम समिति संयोजक एवं सदस्यहरू, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख र प्रतिनिधिलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया