राजविराज : ३८ वर्षदेखि अलपत्र परेको राजविराज बसपार्क अन्ततः पुनः सञ्चालनमा आएको छ । राजविराज–२ स्थित राजदेवी टोलमा निर्माण गरिएको बसपार्कको बिहीबार एक विशेष समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरेका छन ।
बसपार्क सञ्चालनमा आएपछि मुख्य सडकमा देखिने सवारी चाप घट्ने र नगर व्यवस्थित बन्ने कार्यवाहक प्रमुख परविनले बताए। लामो तथा छोटो दूरीका सवारीसाधन अब यही बसपार्कबाट सञ्चालन हुनेछन् । उहाँले बसपार्कलाई ूनगरको सुन्दरता र पूर्वाधार विकासको महत्वपूर्ण हिस्साूको रूपमा व्याख्या गरेका छन ।
बसपार्कको पहिलो पटक शिलान्यास २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरे । त्यसपछि २०४६ मा अञ्चलाधीश सूर्यबहादुर सेन ओली, २०५२ मा प्रधानमन्त्री शेरबहादुर देउवा र चौथो पटक २०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा तथा नगरप्रमुख शम्भुप्रसाद यादवले शिलान्यास गरेका थिए ।
स्थानीय जग्गाधनीको अवरोध र ठेकेदारको ढिलाइका कारण निर्माणमा पटक–पटक बाधा आएको थियो । करिब १९ हजार ६०० वर्गमिटर क्षेत्रमा फैलिएको बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक शाखा, प्रतीक्षालय, शौचालय, रेष्टुराँ, मिनिमार्केट, सभाहल र प्रहरी बिटजस्ता संरचना बनाइएका छन् ।
सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार रुपैयाँको लागतमा सिनर्जी बिल्डर्स प्रालिले निर्माण जिम्मा पाएको बसपार्क २०७४ पुस १६ गते सम्झौतापछि सुरु गरिएको थियो । निर्माण सम्पन्नपछि वैशाख २३ गते बसपार्क सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया