सामाजिक सञ्जालमार्फत चरित्रहत्या प्रकरणमा पक्राउ परेका एमाले नेता ऐन महर हाजिरी जमानीमा रिहा

बुधबार, ११ भदौ २०८२

काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्।

विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका महरलाई हाजिरी राख्ने शर्तमा छोडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिनुभयो। प्रहरीको अनुरोधपछि जिल्ला अदालत काठमाडौंले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

बुधबार प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका महरलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो।

महरविरुद्ध यसअघि पनि यौन दुराचारसँग सम्बन्धित गम्भीर आरोपहरू लागेका थिए। बझाङका स्थायी बासिन्दा महर अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमालेको तर्फबाट बझाङबाट उम्मेदवार बनेका थिए तर एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए।

२०७८ मंसिरमा एमालेले महरलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले एकपटक निलम्बन गरे पनि पछि सचिवालय बैठकबाटै जिम्मेवारीमा फर्काइएको थियो।

प्रहरीले यस प्रकरणमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार