एक्लो भएको छोरो शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु  : गणेश चौलागाईं

शनिबार, १८ असोज २०८२

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै भाग दौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारबाहीको माग गरेका छन् ।

गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी सञ्चार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभिल अस्पताल लगियो भनेर,’ उनले भने । सिभिल हस्पिटल पुगेपछि श्रीयम राष्ट्रिय ट्रमा सेन्टरमा रहेको र मृत्यु पुष्टि भएको आफूलाई थाहा भएको उनले बताए।

गणेशले बताएअनुसार शव ट्रमपछि त्रिवि शिक्षण अस्पतालमा पाँच दिनसम्म राखियो र प्रारम्भमा शव उपलब्ध गराउन सरकारले ढिलाइ गरेको थियो ।‘हामीले जबरजस्ती माग गर्दा मात्रै मुचुल्का उठाएर गएका थिए तर प्रहरीले ‘पाँच–सात दिनपछि सम्मानका साथ निकाल्छौँ’ भनेको थियो,’ उनले भने ।

गणेशले भने कि परिवारले अब सम्मानको अपेक्षा नगरी तत्काल आफ्ना छोराको शव चाहिएको माग गरेका थिए, किनकि ‘लास कुहिरहेको’ अवस्था देखिएकाले अब ढिलाइ गर्न नसकिने अवस्थामा पुगेको थियो ।

आन्दोलन नेतृत्व र वर्तमान राजनीतिक नेतृत्वप्रति कडा अभिव्यक्ति दिँदै गणेशले भने, ‘जेनजी पुस्ताको लिडरसिप कमजोरी नै छ। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, रमेश लेखक हत्यारा हुन् । यिनलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्छ ।’

उनले वर्तमान सरकारलाई शहीदहरूको रगतमा टेकेर बनेको बताए । सरकारले शहीदप्रति वास्तविक सहानुभूति देखाउन आवश्यक रहेको बताउँदै १५ लाख क्षतिपूर्तिको घोषणा स्वीकार्य नभएको पनि स्पष्ट पारे ।

गणेशले परिवारका तर्फबाट समिति गठन सुरक्षाका कामका लागि पहल गरेको बताए। उनले सफा नेतृत्व र ठोस कार्यान्वयनको अभाव हुँदा आन्दोलनको अहिलेको स्वरूप निराशाजनक रहेको बताए ।उनले शहीदको सपना पूरा गर्न अब देशमा प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री चाहिनेमा जोड दिए।

घटनापछि परिवारले सरकारी निकायसँग किटानी जाहेरी दिएको र प्रहरीले मुचुल्का लिने व्यवस्था गरेको उल्लेख पनि समाचारमा प्रस्तुत छ। गणेशले सामाजिक संघसंस्थाहरूले पनि पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।

गणेशले अब शहीद परिवारहरूका तर्फबाट सरकारलाई दबाब सिर्जना गर्न सङ्घर्षका कार्यक्रमहरू आयोजना गर्ने बताए । उनले भने,‘शहीदहरूको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भएपनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि मेरो के नै रह्यो र ? छातीमा गोली थापेर भएपनि लड्छु ।’ 

आफ्नो छोरा शहीद भएपछि बाथरुममा पसेर घण्टौँसम्म रोएको बताएका उनले श्रीयम वानेश्वरको सिभिल अस्पताल अगाडिको सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दै गर्दा प्रहरीले गोली वर्षाएको सुनाए । ‘मेरो छोरासरहका युवाहरूलाई गोली हान्न लगाउने त्यस बेलाका सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पहिले पक्राउ गरेर जेलमा हालेर मात्र छानबिन आयोग बनाउनुपर्छ । ति सबै पशु हुन् । यिनीहरूले देशको माया गर्दैनन्, भाषणमा मात्र माया गर्छन् ।’

इटहरीमा जन्मिएका श्रीयम परिवारसहित काठमाडौँको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट)अध्ययनरत थिए। उनी परिवारको एक्लो छोरा थिए । बुबा–आमाको बुढेसकालको सहारा थिए ।

राजनीतिक दलको गतिविधिप्रति सधैँ वितृष्णा भएको सुनाउने गरेका श्रीयमका बुबा गणेश र आमा गङ्गा कार्की यतिबेला गहिरो शोकमा छन् । गणेश र उनको परिवारले सुरु देखिनै आन्दोलनमा सहभागी निहत्था युवामाथि गोली चलाउनु मानवअधिकारको ठाडो उल्लङ्घन भएको भन्दै दोषी जो भए पनि कानुनी कठघरामा ल्याउनुपर्ने चेतावनी दिँदै आएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार