काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा

शनिबार, १८ असोज २०८२

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ। बिहानभन्दा अहिले वर्षा थप बढेको विभागले जनाएको छ।

पछिल्लो एक घण्टामा मात्र काठमाडौँमा ६ मिलिमिटर, ललितपुरमा ९.८ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा मापन भएको छ। उपत्यकासँगै पर्सा र रौतहटमा क्रमशः १० र १०.६ मिलिमिटर वर्षा भएको छ भने महोत्तरी र धनुषामा पनि झरी परिरहेको छ।

गत १२ घण्टाको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यस्तै पर्सामा ४० मिलिमिटर र बारामा २८ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेको छ। विशेषगरी रातिको समयमा झनै बढी वर्षा हुने सम्भावना औंल्याइएको छ।

हाल बागमती र मधेस प्रदेशका धेरै ठाउँमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका थोरै क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरिरहेको हुँदा त्यही क्षेत्रमा निरन्तर वर्षा हुने देखिएको र सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागले पछिल्लो मौसमी सूचना समयमै लिनुहुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार