काठमाडौंः देशभर मनसुन सक्रिय भएपछि सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले राजधानीका प्रमुख नाकासहित विभिन्न स्थानमा माइकिङ गर्दै सवारी चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सडक सुरक्षामा उच्च सतर्कता आवश्यक भएको ट्राफिक प्रहरीले जनाएको छ। सडक चिप्लो हुने, दृश्यता कमजोर हुने, बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले चालकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार नागढुङ्गा, थानकोट, साँगा, सातदोबाटो, बालाजु लगायतका प्रमुख नाकामा गएरातिदेखि माइकिङ सुरु गरिएको छ। “जोखिमपूर्ण मौसमी परिस्थितिमा चालकहरूलाई सचेत गराउन र दुर्घटना न्यूनीकरण गर्न माइकिङ र मौखिक सूचना दिन थालिएको हो,” उनले बताए।
विशेषगरी लामो दूरीका सवारी चालकहरूलाई राति तथा वर्षामा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा ब्रेक, टायर, लाइट लगायतका उपकरणको प्राविधिक परीक्षण गर्न आग्रह गरिएको छ। अधिकारीका अनुसार पृथ्वी, सिद्धार्थ, बिपी, अरनिको जस्ता पहाडी तथा पहिरो जोखिमयुक्त राजमार्गमा अझ बढी सतर्कता आवश्यक छ।
ट्राफिक प्रहरीले गत वर्षहरूमा देखिएका दुर्घटनाबाट सिक्दै यसपालि सुरुआतदेखि नै सतर्कता बढाएको जनाएको छ। प्रमुख राजमार्गमा गस्ती, ट्राफिक पोस्टमार्फत तत्काल सूचना आदानप्रदान, आकस्मिक उद्धार र सहयोगका लागि टोलीलाई तयारी अवस्थामा राखिएको छ।
यस्तै, सामाजिक सञ्जाल फेसबुक, ट्विटर (एक्स) तथा विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति र आकस्मिक सडक बन्दसम्बन्धी जानकारी नियमित रूपमा सार्वजनिक गरिँदै आएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले “सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ” भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्न चालक, यात्री र सरोकारवालाबीच आपसी समन्वय अपरिहार्य भएको बताए।
प्रतिक्रिया